
काठमाडौं: सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री पदमा नियुक्ति हुने भएका छन् । प्रधानमन्त्रीको शपथग्रहण पनी मंगलबारनै हुने भएको छ । सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको थियो ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी भइरहेको छ । राष्ट्रपति निवास स्रोतका अनुसार आज मंगलबार साँझ ५ बजे भित्र नै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ ।
काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका विपक्षी गठबन्धनले पनि देउवाको नेतृत्वमा मन्त्रिपरिषद् बनाउने निर्णय समेत सोमबार भएको थियो । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलका अनुसार मंगलबार बिहान कसरी सरकारमा जाने भन्ने बारेमा विपक्षी गठबन्धनबीच छलफल हुदैछ ।