काठमाडौँ— क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । मंगलबार बिहानै देखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् ।
सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए ।
जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्नु परेको जनाएका छन् । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् । जिल्ला सभापतिहरुले त क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबारभित्रै सार्वजनिक गर्न’ अल्टिमेटम’ दिएका थिए ।
सोमबारै सदस्यको नामावली सार्वजनिक नभएपछि मंगलबारदेखि केन्द्रीय कार्यालयमा उनीहरुले धर्ना दिन थालेका हुन् ।
यसपटक देशैभरिबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने व्यवस्था गरिएकाले अन्तिम नामावली समेत डिजिटल कपीमै तयार हुनेछ । त्यसैले त्यो सार्वजनिक गर्न समेत सहज हुने स्रोतको भनाइ छ ।
आजको कान्तिपुर दैनिकबाट साभार