धनगढी- कैलालीमा फेसबुकमार्फत ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै एक युवक कुटिएका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रमा बैतडी घर भएका जनकराज (जेआर) भट्टमाथि कुटपिट भएको हो।
कुटिएका भट्टले आज बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताएका छन्। ‘जिन्दगीमा कहिल्यै नसोचेको घटना घट्यो’, कुटपिटपछि धुरुधुरु रोएर फेसबुकमा लाइभ गर्दै जेआरले भनेका छन्,‘अत्तरियामा ट्याङकर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर म माथि कुटपिट भएको छ। हिरो बन्न खोज्छस् ? भनेर ४/५ डडेल्धुराका र गुरुङहरुले मिलेर बिहान १० बजेतिर मलाई कुटे। अहिले म धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत छु।’
कुटपिटपछि शरीरमा चोट लागेको उनले बताए। यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएको उनले बताए। जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीले भने उक्त कुटपिटको घटनामा एक युवकलाई पक्राउ गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार कुटपिटको आरोपमा गोदावरी नगरपालिकास्थित वडानम्बर २ का स्थानीय रोहित साउदलाई पक्राउ गरिएको हो। साउदलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। यस्तै कुटिएका युवकलाई घाउ जाचका लागि पठाइएको बताइएको छ।
दुर्घटना हुँदाहुँदै गरेका थिए लाइभ
कुटिएका युवक जेआरले हिजो (शनिबार) राति अत्तरियामा ट्याङकर दुर्घटना हुँदाहुदै फेसबुकमा (प्रत्यक्ष प्रसारण) लाइभ गरेका थिए। उनले अत्तरियामा नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर दुर्घटना भएको दृश्य लाइभ गरेका हुन्। हिजो अत्तरियास्थित पहाड रोडमा उक्त ट्याङकर दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका थिए।
ट्याङ्करले पैदलयात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर १ का लोकेन्द्र धामीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको हुन्। उनी अहिले उपचाररत छन्। यस्तै ट्याङकर दुर्घटनाबाट ५ गाई मरेका थिए। दुर्घटनापछि ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल र सहचालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।