काठमाण्डाै- पार्टीका ४ जना सांसदले समर्थन जनाए। त्यसमा स्वतन्त्र निर्वाचित प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि प्रचण्डलाई साथ दिए।
बालकोटको बैठकमै पहिलो साढे २ वर्ष प्रचण्ड र अर्को साढे २ वर्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भद्र सहमति भयो। सहमतिपछि सांसदको हस्ताक्षर संकलनको पत्र तयार पारियो। सहमति बनेसँगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बार्दलीमा निस्किएर हात हल्लाए। २०७७ पुस १० गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको कदमविरूद्ध उभिएका दाहाल २०७९ पुस १० गते एकै ठाउँमा भेला भए।
त्यसपछि एमाले महासचिव शंकर पोखरेलले राष्ट्रको आवश्यकताले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन एमाले अघि सरेको बताए। उनले सरकार गठनपछि अरू विषयमा छलफल गर्ने बताए।
त्यसपछि हस्ताक्षर तयार भएको पत्र बोकेर ७ दलका प्रतिनिधि र तीन जना स्वतन्त्र सांसदसहित ४:४५ बजे प्रचण्ड शितल निवास पुगे। प्रचण्डले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को २ अनुसार १६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ६:२५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको ४४ औं प्रधानमन्त्री नियुक्त गरिन्।
२०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गर्न लागेका हुन्। सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको रूपमा दाहालले पद तथा गोपनियताको सपथ लिनेछन्।
८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएर केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भयो। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने सम्भावना छ। बालुवाटारमा गठबन्धन तोडेर निस्किएका प्रचण्ड स्पष्ट बहुमतसहित सरकारको नेतृत्व गर्दै बालुवाटार छिर्नेछन्। फाेटाे फिचर सहित