बाजुरा- बजेडीमा पहिरो बग्न थालेको ४ दशक बित्यो। तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी अहिलेसम्म पनि हुन सकेको छैन्। स्थानीयले बेला बेला सुरक्षित बासका लागि माग गरिरहेका छन्। तर बस्ती सार्ने ठोस योजना न राज्यले अघि सारेको छ। नत राज्यका निकायमा प्रतिनिधित्व गर्ने व्यक्तिबाट नै निर्णायक पहल देखिन्छ।
२०४० सालमा बुढीगंगा नगरपालिका २ बजेडीमा पहिलो पटक पहिरो बग्न थालेको हो। स्थानीयका अनुसार त्यो बेला पूर्व मन्त्री स्वर्गिय प्रकाशबहादुर सिंहले बस्ती छोड्न र कैलालीको फूलबारीमा बस्न खबर पनि पठाए। तर स्थानीयले सहजै ठाउँ छोड्न सकेनन्, सिंह स्वयमले पनि बस्ती सार्ने ठोस योजना लिएर गाउँ आएनन्।
बीचमा केही समय पहिरो रोकिए जस्तै भयो। फेरि २०५० पछि गुइगाड खोलाको कटानले बजेडी, गुईवन, गुम्लागाउँलाई नै असर पार्ने गरि फेरि पहिरो बग्न थाल्यो। जो अहिलेसम्म पनि बग्नेक्रम रोकिएको छैन। त्यो बेलाको भन्दा यो वर्ष बढी जोखिम निम्त्याएको देखिन्छ। गाउँमा कुनै घर नचर्किएको भेटिदैनन्।
जमिनको सतह पुरै बसिसकेको छ। कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सहत भासिएपछि घर चर्किने र भत्किनेक्रम बढेको भन्छन् स्थानीय मनीराज जैशी। बजेडीमा करिब १ सय ३० परिवारको बसोबास छ। २५ बढी जति परिवार पूर्ण रुपमा विस्थापित भएर तराई लागे। उनीहरु सुरुमा दोधारा चाँदनी बसे, पछि भारतको कमाइबाट गुलरियामा बस्ती बनाएर बसिरहेको जैशीले जानकारी दिए।
सिंगो बजेटी बस्तीको खेती योग्य जमिन चिरा चिसा परेको छ। बस्ने घर चर्किएका छन्। केहीका भत्किसकेका छन्। एकसाता यता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकाको रेकर्ड छ। एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छोडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन्, तर विगत केही वर्ष यता कुनै बर्खा बजेडी बासी शान्त मनले रात कटाउन पाएका छैनन्।
घर हेर्दा चर्किएका छन्। बस्न लायक छैन्। जमिन पुरै भासिएको छ। पानी नपरेको दिन छैन्। छेउमै गुइवन, गुम्लागाउँ र बजेडीको वर्षौ पुरानो पहिरो बगिरहेको देखिन्छ। आँखा चिम्लेर सुत्न मन लाग्ने कुरा धेरै टाढाको भयो, उभिएरै बस्न सक्ने अवस्था समेत स्थानीयलाई छैन्। जमिन पहिरोसँगै बगेपछि खाने कुराको जोहो गर्न समेत समस्या छ।
घर भत्किदा खरछाना बनाएर, पाल टाँगेर बस्न हुन्थ्यो, बर्खा कटाउन सास्ती भएपनि मुस्कील हुने थिएन्, सिंगो बस्ती बसेको जमिन नै जुनसुकै बेलापनि पहिरोसँगै मिसिने अवस्था छ, जीउ जोगाउने ठाउँ समेत नभएको दुख सुनाउँछन्, पीडित जोगी ल्वार।
ल्वारको परिवार तीनदिन देखि खरछानामा बस्न बाध्य छन्। घरमा ९ जनाको परिवार संख्या छ। ओढ्ने कपडा, खाने गासको टुंगो हुदैन्, बाहिर बस्नु, मागेर खानु यस्ता दुख कसैलाई भोग्न नपरोस् जोगीले दुख पोखे। जोगीले भोगेको समस्या पहिलो पटक भने होइन्, कम्तीमा पनि यही समस्या र सास्तीमा दशक बिताएका छन्।
जोगीको जस्तै समस्या डम्म ल्वारको पनि छ। उनको घर भत्किएको दुई दिन भयो। चर्किएको अवस्थामा घरमै बस्यौं, पुरै भत्किएपछि अन्त सर्नुको विकल्प रहेन्, खरक लगाएर ६ जनाको परिवार रात बिताउन बाध्य छ, ल्वारले दुख सुनाएका छन्। जोगी र डम्म बजेडीका प्रतिनिधी पात्र मात्रै हुन्।
बसोबास गर्ने मध्ये ६० प्रतिशत घर पूर्ण रुपमा चर्किएको अवस्था छ २० बढी परिवार घर भत्किएरै विस्थापित बनेका छन्। नचर्किएका घरमा पनि घरको आँगन भासि सकिएकोले ढिलो चाँडो भत्किने बुढीवगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानीयाँले जानकारी दिएका छन्। बाँनीया नेतृत्वमा उपप्रमुख माया कुँवर, समन्वय समिति सदस्य हिक्मत थापा सहीतको टोलीले सिंगो बस्तीको अनुगमन गरेका छन्।
मान्छे बस्न उपयुक्त नदेखिएको र पहिलेदेखि नै बस्ती सार्नु पर्ने माग उठेकोले पालिकाको तर्फबाट अनुगमन गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन्। स्थानीयले ९८ घर परिवारको विस्थापित हुने सूची सहीत नगरपालिकामा निवेदन दिएका छन्।
अनुगमन टोलीले घर भत्किएका, चर्किएका, जमिन भासिएका र पहिरोले पहिलेदेखि नै भत्काएर क्षति सहन बाध्य सबैको हकमा बस्ती विकासको अवधारणलाई अघि सार्ने लक्ष्य सहित पालिका लागि परेको आश्वासन दिएका छन्। चार दशक देखिको आश्वासन सुनेर हैरान बनेका स्थानीयलाई तत्काल विश्वास गरिहाल्ने अवस्था भने छैन्।
अहिलेपनि कयौ विदेशीका छन्। केहीले तराइमा सुकुम्बासी भएर टहरामा बसीरहेका छन्। गाउँमा बसीरहेकाहरु भने अर्को विकल्प नदेखेपनि ज्यानै बाजि राखेर पहिरोको चोट सहेर बस्न बाध्य छन्। बाजुराका ठूलो पहिरो र बस्ती क्षतिको भएको अवस्था हेर्दा बजेडी पनि शिर्ष १० गाउँमा पर्ने गरेको छ।
नगरपालिकाले बस्ती यसैवर्षबाट सार्ने तयारी थाल्ने दाबी गरेको छ। स्थानीयले नै उपयोग गर्ने सेलापातल मल्यासैन सामुदायिक वन क्षेत्रमा बस्ती राख्न मिल्ने सुरक्षित ठाउँ छ। उपभोक्ता समिति, सरकारसँग सहमति गरिर, स्थानीयलाई त्यतै सार्नु पर्नेमा पालिका लागेको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन्।
भूगर्भ विदहरुले पनि बजेडीमा बस्ती बसाउनै नहुने बताएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले पनि उच्च जोखिम भएको गाउँको सूचीमा राखेको छ। जोखिम नघट्ने निष्कर्ष सहीत सार्नका लागि पनि जिल्ला प्रतिकार्य योजनामा उल्लेख गरिएको छ। बाजुराका बजेटी सहीत करिब १ सय १६ बस्ती जोखिममा देखाएको छ।
वर्षौ देखि विचल्ली पर्दा पनि सरकार जिम्मेवार र गम्भीर नहुने गरेको प्रति स्थानीय आक्रोशीत छन्। बस्ती बगे बग्ला, जे होस् भन्ने जसो नियत राखेर राज्यले संरक्षण नगरेको स्थानीयले गुनासो पोख्ने गरेका छन्। तर बुढीगंगा नगरपालिकाले भने नमुना बस्ती विकास कार्यक्रमका रुपमा यसै वर्षअघि बढाउने दाबी गरेको छ।
अभाव समस्या र विचल्लीमा पनि कोही नभए जस्तो, राज्यका नागरिकको जस्तो व्यवहार र संरक्षण नपाएको सामूहिक गुनासो छ। स्थानीय आपसमा बसेर गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा सार्ने निर्णय गरिए स्वीकार्य हुने सहमति नै गरिसकेका छन्। समयमै सचेत र जिम्मेवार नभए बस्ती नै नरहने र सिंगो जमिनको सतह नै पहिरोमा परिणत हुने अवस्थाको नजिक बजेडी गाउँ पुगेको छ।