बाजुराः जिल्ला कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्षमा जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ।जिल्ला कृषि ज्ञान केन्द्र मार्तडी बाजुराको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा ३३ हजार २९५ बिरुवा रोपिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले बताउनुभएको छ ।
कार्यालय प्रमुख जैशिले दिएको जानकारी अनुसार जिल्लामा ३६ वटा हिउँदे फलफुलका बगैचा स्थापना गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएकोउहाँले खप्तड मालिका न्युजलाई जानकारी दिनुभएको छ । २० हजार १४५ वोटको २३ वटा ओखर बगैंचा, १२ हजार ५५० बोटका ११ वटा स्याउ बगैंचा ३५० बोटको एउटा किवी बगैंचा,र ६ सय बोटको एउटा आरु बखडाको बगैंचा स्थापना लागि २९ वटा कृषि समूह, सहकारी संस्थाले ज्ञान केन्द्रको अनुदान सहयोग पाएर बिरुवा रोपिएको प्रमुख जैशीले बताएका छन् ।
३६ वटा बगैंचा स्थापना गर्ने उद्देश्यले हिउँदे फलफूलका बिरुवा रोप्ने कार्य पुरा भएको उनले बताए ।कृषकलाई अनुदान सहयोग दिएर वर्षेनी ३० हजार बढीका बिरुवा रोप्ने कार्य गरिएको छ । कृषि ज्ञान केन्द्रले बिगत केहि समयदेखि ‘फलफूल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं’ भन्ने अभियान सञ्चालन गर्ने गरेको र त्यहि कार्यक्रम अनुसार जिल्लामा यो आर्थिक बर्षमा ३३ हजार २९५ बिरुवा रोपिएको कार्यालय प्रमुख जैशीले बताउनुभएको छ ।
बाजुरा गरिबि र पिछडीएको जिल्ला मात्रै नभई बिभिन्न फलफुल खेती संगै सम्भावनाको जिल्ला रहेको हुँदा जिल्लामा धमाधम फलफुल लगायत अन्य कृषि खेतीको कार्य बिस्तार धमाधमा भइरहेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रको समन्वय सहकार्य तथा आर्थिक सहयोगमा जिल्लामा रहेका सम्भावना बोकेका ठाउँहरुमा फलफुल संगै तरकारी खेती गर्ने कार्य निरन्तर चलिरहेको छ । स्थानीय उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउन पछिल्लो समय ज्ञान केन्द्रले कृषि पेशा गरिरहेका कृषकहरुलाई बिभिन्न आर्थिक सहयोग तथा अनुदानमा सामाग्रीहरु पनि बितरण गर्दे आएको छ जसबाट जिल्लामा कृषि पेशा गरिरहेका कृषकलाई थप हौसला मिलेको छ ।
कृषि ज्ञान केन्दले पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा बिशेष जोड दिदै आएको छ जसका कारण जिल्लामा कृषि कार्यले राम्रो निरन्तरता पाउनुका साथै राम्रो उत्पादन समेत भइरहेको छ । कृषि ज्ञान केन्द्रले चालेको यो पहल कदमीबाट जिल्लामा उत्पादन भएको रैथाने तथा नगदे बाली अहिले जिल्ला बाहिर पनि निर्यात हुदै आइरहेको छ । पछिल्लो समय ज्ञान केन्द्रले जिल्लाबाट उत्पादित भएको कोदो, स्याउ, आलु, सिमि, मकै, भटमास, विभिन्न तरकारी र रैथाले बालि जिल्ला बाहिर निर्यात गर्दै आइरहेको छ ।बाजुराका कृषकले यो वर्ष मात्रै दुई करोड रुपैंया वरावरको कोदो, स्याउ ,आलु सिमी, भटमास,बिभिन्न तरकारी लगायत रैथाने वाली जिल्ला बाहिर निर्यात गरेका थिए ।