काठमाडौं: जुलाई २३ देखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।
पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। कल्पना र सोनियाले भने वाइल्ड कार्ड पाएका छन्। टोकियो ओलम्पिकमा गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले ४८ केजी तौलसमूह र सरस्वतीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल छन् ।
टोकियो ओलम्पिकमा पाँच खेलाडी र चार प्रशिक्षक बाहेक अन्य २१ जना अफिसियलका रूपमा सहभागी हुँदै छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकमा सहभागी हुनेको नामावली सार्वजनिक गरेको हो । सेफ द मिसनका रूपमा नेपाली टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गर्नेछन् । परिषद्बाट उपाध्यक्ष शिव कोइराला र बोर्ड सदस्य सुभास श्रेष्ठ र सम्पन्न श्रेष्ठले पनि जापानको सयर गर्दै छन् ।
यसैगरी ओलम्पिक कमिटीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष तेज गुरुङ, सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसा थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले पनि जापान जाँदै छन्। हाल अमेरिकामा रहेका तिम्सिना उतैबाट जापान आउने बुझिएको छ ।
यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, मेडिकलतर्फ डा.नविसमासिंह प्रधान, नेपाली दूतावासका कर्मचारी प्रेम बराल र स्वयंमसेवक रूपेश डंगोलले पनि टोकियो ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् । टोकियो ओलम्पिकमा सहभागी हुने सञ्चारकर्मीको नाम भने सार्वजनिक गरेको छैन। ओलम्पिक कमिटी स्रोतका अनुसार चार सञ्चारकर्मी टोकियो ओलम्पिकमा सहभागी हुँदै छन् ।
अझ रोचक कुरा त टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेका पौडी, एथलेटिक्स, सुटिङ र जुडो संघका कोही पनि पदाधिकारी भने जापान जाने टोलीमा परेका छैनन् । नेपाली टोली जुलाई १६ देखि १९ का बिचमा जापान जानेछ। पौडीका दुई खेलाडी र एक प्रशिक्षक भने यसअघि नै जापान पुगिसकेका छन् ।
नेपालको झण्डा गौरिकाले बोक्ने
यही जुलाई २३ देखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा जलपरी गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै नेपालको झण्डा गौरिकाले बोक्ने जानकारी दिएको हे ।
गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। उनले सन् २०१६ को रियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्। त्यतिबेला कान्छी खेलाडीका रूपमा संसारकै ध्यान तान्न सफल भएकी थिइन्। गौरिकाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपालको झण्डा बोकेकी थिइन् । १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कांस्य गरी नौ पदक जितेकी थिइन् ।