धनगढी: विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसमा तालबन्दी गरेका छन् । बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले आफूहरुको माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासन समक्ष बुधबार तीन बुँदे माग राखेकोमा त्यसको कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको बीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी तेजजंग मल्लले बताए ।
विद्यार्थीहरुले कोभिडका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए ।
ती मागहरु बीए एलएलबीका विद्यार्थीको मात्र नभएर सबै संकायका विद्यार्थीको संयुक्त माग भएको अर्का विद्यार्थी पारस कठायतले बताए ।