नयाँदिल्ली–भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ। सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ। हिजो शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८।३३ प्रतिशत पुगेको छ। कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ। यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ ।
यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ।
रासस