काठमाडौँ — कांग्रेस सभापतिका पाँच उम्मेदवारमध्ये चार उम्मेदवारको एजेन्डा थियो नेतृत्व परिवर्तन र पुस्तान्तरण । प्रधानमन्त्री शेरबहादुर देउवा भने आफू पुनस् सभापतिमा दोहारिन चाहन्थे, उनलाई न नेतृत्व परिवर्तन चाहिएको थियो, न पुस्तान्तरण । उनीबाहेक सबै उम्मेदवारले यो महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै होइन, पुस्तान्तरण गरेरै छाड्ने उद्घोष गरेका थिए ।
देउवाको नेतृत्वमा अब पार्टी नचल्ने र कांग्रेसले आगामी निर्वाचनमा जित निकाल्न नसक्ने उनीहरूको ठहर थियो । देउवामात्रै होइन, नेतृत्व परिवर्तन र पुस्तान्तरणको भुंग्रोमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि परे । ‘अब देउवा र पौडेलबाट पार्टीमा रुपान्तरण हुन सक्दैन, उहाँहरूबाट पार्टी चल्दैन, त्यसैले अब नेतृत्व परिवर्तन आवश्यक छ,’ महाधिवेशन सुरु भएपछि सभापतिका प्रत्याशी प्रकाशमान सिंहले कान्तिपुरसँग भनेका थिए ।
त्यस्तै, आफू निर्वाचित भए पार्टीमा नेतृत्व परिवर्तन, पुस्तान्तरण र रुपान्तरणको पुल बन्ने घोषणा पत्र थियो, सभापतिका अर्का प्रत्याशी विमलेन्द्र निधिको । ‘म पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको माध्यम बन्न चाहन्छु,’ निधिले पटक–पटक भनेका थिए । त्यहीकारण पौडेलले उम्मेदवार बन्ने हिम्मत नै गरेनन् ।
तर, पहिलो चरणको मतदान सकिएपछिको अवस्था भने फरक रह्यो । पहिलो चरणमा सभापतिमा दोहोरिन चाहेका देउवाले बहुमत पुर्याउन सकेनन्, न त नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा उभिएका अन्य प्रत्यासीले नै बहुमत पुर्याउन सके । देउवाले २२५८ मत प्राप्त गरे, भने शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत मात्रै पाए ।
त्यहीकारण निर्वाचन दोस्रो चरणमा गयो, नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा उभिएका सिंह र निधि नै देउवाको पक्षमा उभिए, त्यो पनि पहिलो कुराकानीमै । अझ नेता सिंहले त मंगलबार साँझ विज्ञप्ति निकालेरै दाबी गरे– ‘मैले देउवासँग कुनै सर्त वा राजनीतिक सर्त राखेको छैन । कुनै लेनदेन भएको छैन ।’ उनले देउवालाई निसर्त सभापतिमा सघाएको उल्लेख गरेका छन् ।
महाधिवेशनभन्दा तीन दिन अघिसम्म देउवा र पौडेलबाट पार्टी नचल्ने दाबी गरिरहेका सिंहले लगत्तै देउवाबाटै पार्टी राम्रोसँग सञ्चालन हुने संभावना कसरी देखे रु र, निसर्त किन सघाए रु यो भने निकै आश्चर्यलाग्दो प्रश्न छ ।
सभापतिका अर्का प्रत्यासी गुरुङले पनि देउवालाई नै समर्थन गरे । पहिलो चरणमा २२ मत मात्रै पाएका उनको समर्थनले न देउवाको पक्षमा निर्णायक हुन्थ्यो, न कोइरालाको पक्षमा । तर, गुरुङले देउवा नै रोजे । आखिर किन रु
महामन्त्रीका प्रत्यासी गगन थापा विगतमा पार्टीको नेतृत्व परिवर्तनको नारा लगाउने नेताहरूले नै पूरानै नेतृत्वलाई समर्थन गर्नुको कारण पार्टी कार्यकर्तालाई बताउनुपर्ने बताउँछन् । ‘हिजो नेतृत्व परिवर्तन गर्न सबै कुरा गर्छु भन्नेहरु आज नेतृत्व परिवर्तन रोक्न सबैथोक गर्न तयार देखिनुभयो, यो विषयमा पार्टीका कार्यकर्तालाई उहाँहरुले जवाफ दिनुपर्छ,’ थापाले भने । उनले सभापतिका प्रत्याशीत्रय सिंह, निधि र गुरुङलाई नेतृत्व परिवर्तनको पक्षमा किन साथ नदिएको भन्ने प्रश्नले लखेटिरहने समेत दाबी गरे ।
कांग्रेसको यो महाधिवेशनमा नेतृत्व परिवर्तन र रुपान्तरणको मुद्दा नउठेको होइन, तर त्यो मुद्दाले पार्टीमा बहुमत भने पाउन सकेन । पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरण नचाहने शक्ति हाबी भएको नेताहरूको भनाइ छ ।
‘हामी नेतृत्व परिवर्तन चाहन्छौँ, तर हामीले चाहेको मात्रै हुने पनि भएन । अधिकतम साथीहरूले पूरानै नेतृत्वप्रति रुची राख्नुभयो, पूरानै नेतृत्व चुन्नुभयो,’ एक नेताले भने, ‘हामीले उठाएको नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दाले बहुमत पाएन ।’ ती नेताले पार्टीमा सधैं जसो नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लगाउने व्यक्तिहरूले नै यथास्थितिको पक्षमा उभिएको भन्दै आक्रोश व्यक्त गरे ।
उम्मेदवार नभएका नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा नरहेका नेताहरूले देउवालाई नै सघाएको नेताहरूको आरोप छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सार्वजनिक सञ्चार माध्यममा आफूहरू तटस्थ रहेको भनेपनि पौडेल र कोइरालाले देउवाप्रति प्रष्ट सद्भाव राखेका थिए । जसले गर्दा देउवालाई जित निकाल्न सहज भयो ।
सिटौला, प्रकाशमान र विमलेन्द्रको सौदाबाजी
जब पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठ्यो, सभापति देउवाले आफूमाथि खतरा भएको सहजै बुझे । उनले यस्तो रणनीति बनाउन लागे, जसका आधारमा पहिलो चरणमै आफूले बहुमत प्राप्त गरेर विजयी बनौं । त्यहीकारण देउवाले अन्तिम समयमा आफूनिकट आकांक्षीहरूको चित्त दुखाएरै भएपनि नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरे । सिटौला समीकरणमा पनि बहुमत नपुगेपछि दोस्रो चरणको निर्वाचनमा देउवाले सिंह, निधि र गुरुङलाई फकाए, जे माग्यो त्यही सर्तमा । त्यसको आधार के थियो रु
देखावटी जवाफ जे आए पनि त्यसको प्रमुख आधार हो, सौदाबाजी । देउवाले सिटौला पक्षको भोट लिएर पहिलो चरणमै बहुमत पाउने दाउमा समीकरण बनाउन तयार भए, अनि सिटौला आफ्नो पक्षका नेता प्रदीप पौडेललाई देउवा समूहको भोट हालेर महामन्त्री जिताउने सर्तमा ।
नेता सिंहले देउवालाई किन सहयोग गरे, त्यसका कारणहरू प्रष्ट खुलेका छैनन् । तर, उनीनिकट स्रोत भन्छ, सिंहले आफूलाई सरकारमा मन्त्री र आगामी दिनमा समेत राम्रो राजनीतिक भागबन्डा लिने लिखित सहमति गरेका छन् ।
देउवा समुहबाटै छुट्टिएर सभापतिमा लडेका निधिले पनि देउवालाई नै सघाए, उनको के स्वार्थ होला रु उनीनिकट एक नेता भन्छन्, ‘उहाँको धेरै ठूलो बार्गेनिङ केही थिएन, पूरानो लिगेसीकै आधारमा देउवालाई सघाउनुभयो ।’
देउवाले आफूलाई असहयोग गरेपछि विद्रोहमा उत्रिएका निधि दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सघाउनुपर्ने अवस्थामा किन पुगे रु यो पनि प्रश्न पनि निकै पेचिलो छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेताहरूका बीचको स्वार्थ अनुकुलको सौदाबाजीले काम गरेको टिप्पणी गर्छन् । ‘आफूले चाहेको राजनीतिक स्वार्थ पाउने भएपछि त्यसैमा सौदाबाजी भयो, त्यसैले यो सबै सौदाबाजीको परिणाम हो,’ उनले भने ।
देउवाले सिंह, निधि र गुरुङलाई के दिए होलान् रु धेरैले आफूअनुकुल अनुमान गरिरहेका छन् । कांग्रेसका एक नेता भन्छन्– देउवाले दुई कारणले सिंह र निधिलाइ फकाए । पहिलो हो– यसपटक देउवालाई सघाउँदा अर्कोपटक आफूले पार्टीमा पुनस् प्रतिस्पर्धा गर्ने ठाउँ रहनु । दोस्रो हो– जुनियरलाई नेता मान्न अस्वीकार गर्नु ।
‘देउवा अहिले कांग्रेसको मात्रै होइन, मुलुककै नेता हो । त्यसैले अहिले उहाँलाई जित्न जति सजिलो छ,’ ती नेताले भने, ‘उहाँ सबैभन्दा सिनियर नेता हो, उहाँलाई नेता मानेर जाँदा सबैको राजनीति जोगिन्छ ।’ ती नेताले कोइराला धेरै जुनियर भएका कारण स्वीकार्न समस्या भएको प्रष्ट संकेत गरे ।
स्रोतका अनुसार देउवाले पहिलो चरणको मतदान नसकिंदै केही नेताहरूलाई सिंहको निवास चाक्सीबारी पठाएका थिए । सिंहले पोजेटिभ सिग्नल देखाएपछि गृहमन्त्री बालकृष्ण खाँण र सुदुरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर सिंहनिवास चाक्सीबारी पुगेका थिए ।
सिंह–खाँण र बलायरबीचको वार्ता सफल भएपछि देउवा आफैं चाक्सीबारी पुगेका थिए । स्रोतकाअनुसार देउवा–सिंहबीच लिखित सहमति नै भएको छ । ‘मुखले होइन, लिखित चाहिन्छ, उधारो सहमति गर्दिनँ, लिखित हुन्छ भने सहयोग गर्छु,’ सिंहले भनेका थिए । देउवाले पनि लिखित रुपमै सिंहको मागबमोजिमको समझदारी पत्रमा हस्ताक्षर गरेर दिएको स्रोतको भनाइ छ । देउवानिकट नेता मीन विश्वकर्माले भने सिंह र निधिसँग कुनै सहमति नभएको दाबी गर्छन् । ‘कुनै सहमति भएको छैन, भावी दिनमा राजनीतिक सहकार्य गरेर जानुपर्छ भन्ने सामान्य बुझाई हो,’ उनले भने, ‘त्यसबाहेक कुनै लिखित वा मौखिक सर्तहरू छैनन्, सहमति भएको छैन ।’ उनले निधि र सिंहले निसर्त सहयोग गरेको दाबी गरे । दोस्रो चरणको निर्वाचनमा निधि र सिंह निर्णायक थिए, उनीहरूले देउवालाई सघाए ।
रामचन्द्र र शशांकको ‘सद्भाव’
देउवाको जितको अर्को आधार हो, रामचन्द्र पौडेल र शशांक कोइरालाको सद्भाव । सभापतिको आकांक्षी रहेका पौडेल र कोइराला आफू नै साझा उम्मेदवार बन्न नसकेपछि सभापतिका प्रत्यासी कोइराला वा सिंहको पक्षमा खुलेनन्, न त देउवाकै पक्षमा खुले । तर, अरुबेला सधैं नेतृत्व परिवर्तन आवश्यक रहेको भन्ने पौडेल र कोइरालाले निर्वाचनका बेला तटस्थ बस्नुले देउवालाई सघाएको बुझ्न कुनै मुस्किल भएन ।
‘रामचन्द्र दाइ र शशांक दाइले पनि शेखर दाइलाई सघाउनुभएन, हाम्रो एकल प्रयासले यति मत आउने भनेको एकदमै ठूलो कुरा हो,’ शेखर समूहका एक उम्मेदवारले भने, ‘हामीले अहिले जे उपलब्धि छ, त्यसलाई उपलब्धि कै रुपमा मानेका छौं ।’
स्रोतका अनुसार निर्वाचनकै समयमा देउवाले पौडेललाई उनकै निवासमा पुगेर भेटे भने महामन्त्री कोइरालाले बालुवाटार नै पुगेर देउवासँग छलफल गरेका थिए । कतिपय महाधिवेशन प्रतिनिधिले देउवाले पौडेल र कोइरालासँग समेत साझेदारी गरेको अनुमान लगाए । नेताहरुले पौडेल र कोइरालाको सद्भावका कारण पनि देउवालाई जित निकाल्न सहज भएको बताएका छन् ।
कान्तिपुरबाट साभार