काठमाडौँ–बङ्गलादेशमा जारी साफ यु–१९ १९ वर्षमुनि महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो। जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ। भारतको जितमा प्रियङका देवीले गोल गरिन्। उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो।
यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ। फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो। अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ। बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ। भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो। नेपालको सात अङ्क रहेको छ।
युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ। बङ्गलादेशमा यही पुस ६ देखि १४ गतेसम्म आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई राष्ट्रिय झण्डा प्रदान गरे। नेपाली टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन्।
कार्यक्रममा खेलकूदमन्त्री गहतराजले खेलाडीको खेल जीवनपछिको अवस्थाका बारेमा मन्त्रालयले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताए।
रासस