बाजुरा– जिल्लाकाे दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको स्वामी कार्तिक मा.वि.वाईले कक्षा ११ र १२ को अध्यापनमा आधुनिक प्रविधि ओभरहेड प्रोजेक्टरको प्रयोग शुरु गरेको छ । विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी प्रोजेक्टरका माध्यमबाट पठन पाठनको शुरुवात गरेको जनाएको छ । विगतमा पाठ्यपुस्तक नपाउने अवस्थाबाट विद्यार्थीले भाग्नु परेको पिडालाई आधुनिक शिक्षक सामग्रीले प्रतिस्थापन गर्नका लागि विद्यालयको आफ्नै स्रोतबाट ओभरहेड प्रोजेक्टरको प्रयोगको शुरुवात गरिएको विद्यालयका सूचना अधिकारी नहकुल जोशीले जानकारी दिनुभयो । विद्यालयमा शिक्षण प्रविधिमा सुधार गर्नका लागि विगतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेत स्मार्ट बोर्डको प्रश्ताव पेश गरे पनि विद्यालयले पाउन नसकेकाले आधुनिक शैक्षिक सामग्रीको प्रयोगको शुरुवात स्वरुप अहिले कक्षा ११ र १२ मा प्रोजेक्टरको शुरुवात गरिएको विद्यालयका प्रधानाध्यापक शक्तिसिह कठायतले बताउनुभयो ।
भविश्यमा यसको प्रयोगलाई निरन्तरता दिन हाम्रो जस्तो दुर्गम तथा न्युन आर्थिक अवस्था भएको विद्यालयलाई चुनौतीपूर्ण भएको बताउदै उहाँले यसको विस्तारलाई जोड दिइने बताउनुभयो । अहिले विद्यालय अन्य विविध समस्या संग संर्घष गरिरहनु परेको यर्थातका माझ पनि शिक्षण कार्यलाई प्रभावकारी र गुणस्तरीय वनाउनका लागि ओभरहेड प्रोजेक्टरको प्रयोगको शुरु गरिएको विद्यालय प्राचार्य कृपानन्द उपाध्यायले बताउनुभयो । आज विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनराज गिरीले स्वामी कार्तिक माध्यमिक विद्यालयमा एक कार्यक्रमका विच ओभरहेड प्रोजेक्टर बाट शिक्षण कार्यको उद्घाटन गर्नुभएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक, प्राचार्य, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।