बाजुरा– स्थानिय निर्वाचनले गर्दा बाजुरा जिल्ला देशकै चर्चामा छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढि बाजुरा चासोको विषय बन्दै आएको छ । मंसिर ४ गतेको निर्वाचनको मिति आउन करिब चार दिन मात्र बाँकी छन् । बाजुरामा १ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । यतीखेर प्रतिनिधी सभामा बाजुराबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे मैदानमा छन् भने नेकपा एकालेका तर्फबाट स्थाई कमिटी सदस्य कर्ण बहादुर थापा छन् ।
सत्ता गठबन्धन र विपक्षी गठबन्धनका प्रमुख दुई हस्तीहरुः पाण्डे र थापाविच सोझो प्रतिस्पर्धा हुने अनुमान गरिएता पनी मंसिर ४ गते कसले बाजी मार्ला भन्ने कौतुहलता बाजुरेली बासीमा छाएको छ ।
बाजुराका नौ वटा स्थानीय तहहरुः बडिमालिका नगरपालिका , बुढिगंगा नगरपालिका ,त्रिवेणी नगरपालिका, बुढिनन्दा नगरपालिका, हिमाली गाँउपालिका, जगनाथ गाँउपालिका, स्वामिकार्तिक गाँउपालिका, गौमुल गाँउपालिका र खप्तड छेडेदह गाँउपालिका मिलेर बनेको उक्त निर्वाचन क्षेत्रमा ८३ हजार ५ सय ६७ मतदाताले आगामी ५ वर्षका लागि प्रतिनिधि सभामा आफ्नो जनप्रतिनिधि चुन्दैछन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा उक्त क्षेत्रका सबै उम्मेदवारहरु अहिले जनतामाझ आफ्ना चुनावी घोषणापत्र र संकल्प लिएर जाँदै गर्दा कसको पडक कुन आधारमा बलियो छ भन्ने विश्लेषण गर्यो भने निर्वाचनपूर्व नै धेरथोर पूर्वानुमान लगाउन सकिन्छ ।
हुनत, कर्ण बहादुर थापा यस क्षेत्रका जनताका लागि नयाँ अनुहार होइन तर, नेपाली कांग्रेस सहमहामन्त्री बद्री प्रसाद पाण्डे भने नौलो अनुहार हुन । उनले विद्यार्थी जीवनकालमै राष्ट्रिय स्तरबाटै राजनितिकमा ठुलो छवी बनाए । यता थापाको पनी राष्ट्रिय राजनितिकमा ठुलो छवी देखिन्छ । तर पनी थापालाई एमालेभित्रैका नेता, कार्यकर्ताले समेत उनीमाथि नातावाद, कृपावाद र अवरवादको आरोप लगाउँदैछन्। यसरी आरोप लगाउनुको मुख्य कारण उनीहरु गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा थापाले गरेको टिकट वितरणलाई लिने गर्दछन्।
खासगरी बुढिगंगा नगरपालिकाको प्रमुख पदमा थापाले आफ्नै भान्जा नाता पर्ने राम बहादुर बानिँयालाई टिकट दिए । त्यसकार पनी काखा, पाखा गरेको आरोप उहाँलाई छ । अर्कोतर्फ सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा बेग्लै पहिचान बनाउन सफल एमाले पूर्व उपाध्यक्ष भीमबहादुर रावलमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएर गरेको अन्याय र विभेदले पनि सुदूरपश्चिममा एमालेलाई नोक्सानी गर्दैछ ।
बद्री पाण्डेः– चुनावी गठबन्धनको सवालमा सत्ता गठबन्धनभित्रको एउटा दल माओवादीभित्र केन्द्रदेखि तल्लो तहसम्म नै पार्टीले जारी गरेको उर्दी अनुसार त्यस क्षेत्रमा जेजति माओवादी नेता, कार्यकर्ता र मतदाता छन् उनीहरु अरु भन्दा बढी कटिबद्ध र इमान्दार देखिएका छन्। जसको फाइदा अन्तःत पाण्डेलार्ई नै हुने देखिन्छ ।
अघिल्लो चुनावमा एमाले र माओवादीबीचको गठबन्धनका कारण लाल बहादुर थापाले कांग्रेसका उम्मेदवार कविराज पण्डितलाई ४ हजार ८ सय ८४ मतको अन्तरले पराजित गरेका थिए। तर, अहिले गठबन्धनको चुनावी सूत्र बदलिएको छ । एमाले नेतृत्वको गठबन्धनविरुद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। जसको साझा उम्मेदवार पाण्डे हुन ।हुनतः कांग्रेसभित्र पनि केही असन्तुष्टि नभएको होइन। तर, त्यो अहिले विस्तारै व्यवस्थित हुँदै गएको प्रमाण त्यस क्षेत्रबाट टिकटका आकांक्षी कविराज पण्डितले पाण्डेकै पक्षमा खुलेर मत मागिरहेको देखिन्छ ।
अर्कोतर्फ यस क्षेत्रमा स्थानिय तहको परिणमलाई हेर्ने हो भने नेकपा एमालेले ६ वटा पालिका जितेको छ भने नेपाली काँग्रेसले ३ वटा पालिका जितेको छ । यसरी समग्र मतपरिणामको आधारमा हेर्ने हो भने, गत स्थानीय तह निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले पराजित भोग्नु परेको छ । जुन, यसअघि ०७४ को निर्वाचनको ठिक उल्टो परिणाम हो । त्यस आधारमा पनि अहिले यो क्षेत्रबाट कर्ण थापा भन्दा बद्री पाण्डेनै बलिया उम्मेदवार देखिन्छन् ।