काठमाडौँ — विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ ।
विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।
टाइम्सले गत साता उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो । विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिनलगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।
टाइम्समा प्रतिस्पर्धा गर्न त्रिविले विज्ञान तथा प्रविधि संकायका डिन विनिल अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएर काम गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका प्रमुख विनोद जोशी र योजना महाशाखाका प्रमुख ध्रुव गौतम सदस्य थिए । टाइम्सले सूचना गरेपछि सहभागी हुने विश्वविद्यालयले फाराम भरेर पठाउनुपर्ने व्यवस्था छ । सर्वेक्षणअनुसार त्रिविमा अनुसन्धानको वातावरण सबैभन्दा कमजोर देखिएको छ । जसमा त्रिविले ८।२ स्कोर मात्रै प्राप्त गरेको छ । शैक्षिक वातावरणमा पनि अवस्था कमजोर पाइएको छ । त्रिविले शिक्षण सिकाइमा ११।३, अनुसन्धान गुणस्तरमा ४९।५, उद्योग र उत्पादनमा १५।९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६।६ स्कोर पाएको छ । प्राध्यापक अर्यालले टाइम्सको मूल्यांकन मापदण्डमा परिवर्तन भएका कारण त्रिवि पछाडि पर्ने पहिले नै निश्चित भएको प्रतिक्रिया दिए ।
‘अनुसन्धानको साइटेसनले त्रिवि अगाडि पर्दै आएको थियो । यसपालि साइटेसनको अंक ३० प्रतिशतबाट कटौती गरेर १५ मात्रै कायम गरियो,’ अर्यालले भने, ‘विश्वविद्यालयको आम्दानीलाई मुख्य मापदण्ड बनाइयो, त्रिवि त्यसमा कमजोर छ ।’ विगत वर्षमा ३० प्रतिशत अनुसन्धान प्रतिवेदन, ३० प्रतिशत पढाइ लेखाइ, ३० प्रतिशत अनुसन्धान बजेट र १० प्रतिशत अन्तर्राष्ट्रिय प्रभावका आधारमा मूल्यांकन हुने गरेको उनले जनाए । ‘अहिले त्यो मापदण्ड परिवर्तन गरियो । त्रिविसहित भारतका विश्वविद्यालय पनि पछाडि पर्छन् । विकसित मुलुकलाई मात्रै फाइदा पुग्ने खालको मापदण्ड राखिएको छ,’ अर्यालले दाबी गरे । विद्यार्थी मात्रै धेरै भएको तर फ्याकल्टी कम भएको र अनुसन्धानमा प्रशस्त स्रोत नभएकाले त्रिवि हजारभित्र पर्न नसकेको उनले जनाए । ‘मापदण्डका बारेमा विस्तृत रिपोर्ट आइपुगेको त छैन, तर १५ सयभित्रै पर्नु पनि ठूलै कुरा मान्नुपर्छ,’ उनले भने ।
त्रिविमा ४ लाख विद्यार्थी अध्ययनरत छन् । अध्यापकको दरबन्दी भने ३५ प्रतिशतभन्दा बढीले रिक्त रहेको तथ्यांक छ । ९ वटा अध्ययन संस्थानरसंकाय र ४ अनुसन्धान केन्द्रका माध्यमबाट अनुसन्धान र अध्ययनका गतिविधि सञ्चालन गरिँदै आएको त्रिविले जनाएको छ । त्रिविले उच्च गुणस्तरको शिक्षा प्रदान गर्न सुधार योजना अघि बढाएकोसमेत टाइम्सले जनाएको छ । शैक्षिक कार्यक्रम, सुशासन र व्यवस्थापनमा सूचना र सञ्चार प्रविधिको एकीकरण, त्यसका लागि जनशक्तिको क्षमता अभिवृद्धि, कार्यक्रम विकास र अनुसन्धानका लागि सरकार र कर्पोरेट जगत्सँग सहकार्य, उपयुक्त सिकाइ सिर्जना गर्न पूर्वाधारको नवीकरण, अन्तर्राष्ट्रियकरणलाई अँगाल्ने र विदेशी विद्यार्थी र फ्याकल्टी आकर्षित गरिने कार्यक्रम त्रिविले अघि सारेको छ ।
विश्वभरका १ सय ६० उच्च शैक्षिक संस्थासँग विश्वविद्यालयको सहकार्य रहेको जनाइएको छ । त्रिविमा विदेशी विद्यार्थी, अभिभावक भने शून्यप्रायः छन् । विश्व भाषा क्याम्पसमा विदेशी विद्यार्थी भर्ना भए पनि भाषा अध्ययनलाई उपाधिको मान्यता नदिँदा मूल्यांकनमा त्यसको गणना नहुने प्राध्यापकहरू बताउँछन् । कोभिडयता त्रिवि समयमा पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत असमर्थ हुँदै आएको छ । उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएदेखि विश्वविद्यालय विद्यार्थी, अध्यापक, स्थानीयवासी लगायतको लगातार तालाबन्दीको चपेटामा परेको थियो । ३ वर्षमा ३ सयभन्दा बढी दिन त तालाबन्दी मात्रै भएको थियो । सन् १९५९ मा स्थापित त्रिवि पहिलो र संरचना, विद्यार्थी संख्या, आयस्रोतका आधारमा ठूलो विश्वविद्यालय मानिन्छ ।
अक्सफोर्ड लगातार सर्वोत्कृष्ट
टाइम्सले घोषणा गरेअनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट बनेको छ । सन् २०२३ मा पनि अक्सफोर्ड नै पहिलो ठहरिएको थियो । गत वर्ष तेस्रो बनेको अमेरिकाको स्ट्यानफोर्ड भने यसपालि उत्कृष्ट दोस्रोमा दरिएको छ । २०२३ मा दोस्रो बनेको अमेरिकाको हार्वर्ड यसपालि चौथो श्रेणीमा परेको छ । अघिल्लो वर्षको पाँचौं म्यासचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिका तेस्रो बनेको छ । गत वर्षको तेस्रो युनिभर्सिटी अफ क्याब्रिज पाँचौंमा पुगेको छ ।
छैटौंमा र सातौंमा अमेरिकाका प्रिन्सटन र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी रहेका छन् । आठौंमा इम्पेरियल कलेज अफ लन्डन, नवौंमा युनिभर्सिटी अफ क्यालिफोर्निया ब्रेकली र दसौंमा एलली युनिभर्सिटी अमेरिका रहेको टाइम्सको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष पनि यिनै विश्वविद्यालय उत्कृष्ट १० भित्र नै परेका थिए । यसपालि यिनको १० औं भित्रको वरीयता मात्र तलमाथि परेको हो ।