सीके भट्ट
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको भागबण्डा हुँदा सुदूरपश्चिम माओवादीको भागमा परेका डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टले मुख्यमन्त्री हुने मौका पाए। जनताको पीरमर्का बुझेका व्यक्ति मुख्यमन्त्री भएकाले जनताले धेरै आशा गरे। तर मुख्यमन्त्री भट्ट खरो उत्रिन सकेनन्।
२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले ३ वर्षभन्दा बढी प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । ‘चौकीदार’ पृष्ठभूमिबाट आएका मुख्यमन्त्री भट्टले शपथ ग्रहणलगत्तै भनेका थिए, ‘सुदूरपश्चिमका युवाले चौकीदार गर्न भारत जानु नपर्ने गरी काम गर्नेछु, रोजगारी सिर्जना गर्नेछु।’ तर कोरोना भाइरस संक्रमणको महामारीका बेला रोजगारीका लागि भारततिर जान गौरीफन्टा र गड्डाचौकी नाकामा लागेको युवाको लामले मुख्यमन्त्रीलाई नंग्याइदिएको छ । सुदूरपश्चिमका जनताले चौकीदार मुख्यमन्त्री त पाए तर न रोजगारी पाए, न सेवासुविधा।
मुख्यमन्त्री भट्टले कोरोना महामारीको बेला जनतालाई सहानुभूति दिन एउटा वक्तव्यसम्म जारी गर्न सकेनन्। प्रदेशको पहिलो मुख्यमन्त्री भएकाले प्रादेशिक मन्त्रालय र कार्यालयका भौतिक संरचना बनाउने कुरा अलपत्र छ। आफ्नो कार्यालय नै बनाउन नसक्ने प्रदेश सरकारको नेतृत्वबाट अरु के अपेक्षा गर्ने ? प्रदेशको नेतृत्व यसरी निकम्मा भएर बस्न मिल्छ ?
विज्ञापन
संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए। नजिकको सरकारले जनताका पीरमर्का बुझ्ने अपेक्षा गरिएको थियो। तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू झण्डा हल्लाउनमै व्यस्त छन्। कोरोना महामारीको त्रासले जनताको दिमाग खल्बलिएको छ, हल्लिएको छ। तर मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारले केही गरेको देखिँदैन ।
बिडम्बनाको कुरा त के भने सुदूरपश्चिमका युवाहरू कोरोना महामारीका बेला पनि भारततिर गइरहेका छन्। घरपरिवार पाल्न र आर्थिक जोहो गर्न युवाहरूले भारतको भर पर्नुपरेको छ। ३ वर्ष पूरा गरिसकेको प्रदेश सरकारले समग्र युवाका लागि कुनै खास रोजगारीका कार्यक्रम ल्याउन सकेको छैन। मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकार जनताका लागि ‘आकाशको फल’ भएको छ ।