बाजुरा– बुढिगंगा नगरपालिका १ कि १७ बर्षीया रेजिना नेपालीको बलात्कारपछि हत्या भएको भन्दै पिडितहरु आन्दोलनमा उत्रिएका छन् । रेजिना गत पुष २ गते आफ्नै घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी परिवारले जनाएको छ । रेजिनाका आमाबुवा रोजगारीको लागि भनेर भारत गएका थिए तर यता रेजिना मृत अवस्थामा भेटिएको खबरपछि घर फर्किएर आन्दोलनमा उत्रिएका हुन ।
आमाबुवा नभएको मौका पारेर छोरीको बलात्कारपछि हत्या भएको आरोप पिडित पक्षले लगाउदै आएका छन् । तर घटनाको करिब दुई महिना बितिसक्दा समेत प्रहरीले दोषीलाई कार्वाही नगरेर उल्टै उम्काउन विभिन्न षडयन्त्र भइरहेको पिडितहरुले बताएका छन् । रेजिनाको बलात्कारपछि हत्या भएको भनि महिनौ बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेको भन्दै पिडितहरुले शुक्रबार सदरमुकाम मार्तडीको सडकमा नारा विरोधसहित आन्दोलन गरिरहेका छन् ।
एउटा दलित तथा गरिब परिवारकी एक्ली छोरीको बलात्कारपछि हत्या हुँदा पनि याँहाको न्यायलय मौन बसेको पिडितहरुको आरोप छ । बलात्कारको दोषिलाई कारबाही नगर्दासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्बोधन नभए झन कडा रुपले प्रस्तुत हुने पिडितहरुले चेतावनी दिएका छन् ।
रेजिनाको बलत्कारपछि हत्याका दोषी खुलेआम हिड्दा पनि पक्राउ नगरेको र जातिय रुपमा दलितले न्याय नपाएको भन्दै आज जिल्ला प्रहरी कार्यालय, प्रशासनमा धर्नासहित सडक परिक्रमा गर्दै आन्दोलित भएका छन् । बलत्कारीलाई फासी दे, बलत्कारीलाई उम्काउन पाइदैन्,दलित एकता जिन्दाबाद लगायतका नारा जुलुसहित न्यायको माग गर्दै आन्दोलन गरेका छन ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले भने अहिले घटनास्थलमा प्रहरीको टोली गएर घटनाको अनुसन्धान भइरहेको बताएको छ । रेजिनाको बलत्कारपछि हत्या भएको भन्दै पिडितले गत पुष ४ र माघ ५ गते दुई वटा उजुरी दिएपछि घटनाको गहिरो अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न देखिएको भन्दै एक जनालाई शंकास्पद लिइएको तर अनुसनधानका क्रममा रहेकाले अहिलेसम्म पक्राउ भने नगरिएको प्रहरीको भनाई छ ।