काठमाडौं : नेकपा (एमाले)ले पार्टीको नाममा अवैधानिक बैठक नगर्न माधव समूहलाई चेतावनी दिएको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य नगर्न अपिल गरेका छन्। बुधबार विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको उनले बताए ।
‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु ।’ प्रेस वक्तव्यमा भनिएको छ, ‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ ।’
एमालेको माधवकुमार नेपाल समूहले बिहीबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक आह्वान गरेको हो। केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद, राजनीतिक घटनाक्रम र सरकारमा जाने कि नजाने भन्नेबारे गम्भीर छलफल हुने बताइएको छ। सोही बैठकलाई मध्यनजर गर्दै एमाले बैठकमा सहभागी कार्यकर्तालाई आह्वान गरेको हो ।