धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विश्वासको मत नदिने निर्णयले मुख्यमन्त्री राजेन्द्र रावल आजै सरकारबाट बाहिरिने भएका छन् । विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका मुख्यमन्त्री रावल नाउपा उपस्थित नभए अल्पमतमा पर्ने छन् ।
नेकपा एमालेका एक प्रदेश सभा सदस्यले विश्वासको मत प्राप्त नगरे आजै मुख्यमन्त्री सरकारबाट बाहिरिने बताए । उनले भने, बहुमत प्राप्त नगरे पदमा बसिरहने कुरै भएन ।यद्दपि नेकपा एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले विश्वासको मत प्राप्त गर्ने दावी गरे । उनले भने, ‘अहिलेसम्म हामीले विश्वासको मत नपाउने कुरा कल्पना पनि गरेका छैनौ ।’
प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए । नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले विश्वासको मत लिन आज दिउसो १ बजे प्रदेश सभाको बैठक बोलाएका छन् ।
प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेका कारण मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।