बाजुरा– बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि जिल्ला भित्रका अधिकांस सडकहरु अझै खुल्न सकेका छैनन् । सडक अवरुद्ध भएपच्श्रात सडकहरु नखुलेका कारण जिल्ला स्थित सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधिको अभाव भएको पाइएको छ । बिरामी हुदा औसधी सेवन गर्न नपाउदा बिरामीहरुले ठुलो सास्ती भोग्दै आएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ । तर यहाँका पालिकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जानकारी प्राप्त भएको छ ।
बेमौसमी बर्षातका कारण अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव भएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताएकी छिन् । स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधि समेत नआउने गरेको अहेव पाण्डेले गुनासो गरेकी छन । स्वास्थ्य संस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको बताइएको छ ।
चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका उनले बताइन्, ।, “स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गरेको र उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका उनको भनाई रहेको छ । ”
बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका सिअहेव बद्री शाहीले जानकारी दिए । बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य औषधि समेत अपुग भएको उनले बताए । पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्यचौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारी दिइन् ।
सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । “साँफे–मार्तडी राजमार्ग र मार्तडी–कोल्टी सडक सञ्चालनमा आउने वित्तिकै तत्काल औषधि स्थानीय तहमा पठाउने तयारी भइरहेको अभिकृत पन्तको भनाई रहेको छ । बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको र स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको अधिकुत पन्तले बताए ।
यहाँका बुढीगङ्गा नगरपालिका र गौमुल गाउँपालिकामा गरी दुई वटा पालिकाहरुमा भने औषधि पर्याप्त रहेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामीहरु बढी आउने गरेका जानकारी प्राप्त भएको छ ।
राससबाट साभार