धनगढी–कैलालीको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीका अनुसार शुक्रबार थुुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
उनका अनुसार लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार चलान गरिएको छ ।
लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सविनजंग शाही भने धरौटीमा छुटेका छन्। हत्या अभियोगी ९ जना फरार छन् । बडुवालको कार्तिक २३ गते टीकापुरमा हत्या भएको थियो ।