
धनगढीः बैतडीमा एउटा बरकुराली नामको गाउँ छ । पश्चिम नेपाल एकिकरणमा बैतडीका राजाधिराज झुली चन्द र गोर्खाली फौजबीच समझदारी गराई सहयोग गरेबाफत सो क्षेत्र (दुर्गाभवानी) बरमनाथ योगीले विर्तामा प्राप्त गरेको भन्ने कथन रहिआएको छ। सोही ठाउँका गणेश नाथ नेपाली सेनामा जमदार थिए । बैतडीको दशचन्द नगरपालिका–३ मा पर्ने उक्त गाउँका उनले २४ वर्ष नेपाली सेनाको जागिर खाएका थिए । २०२८ सालमा भर्ना भएका उनले २०५२ सालमा अवकास पाएका थिए । उनको एउटै सपना थियो, देशप्रति समर्पित भएर सेवा गर्ने ।
अहिले उनको त्यो लक्ष्यलाई छोराहरुले निरन्तरता दिइरहेका छन्। गणेश नाथका ४ छोरा छन्। नरेश, राम, लक्ष्मण र दिलीप। राम र लक्ष्मण जुम्ल्याहा हुन् । ‘२४ वर्ष बुवाले फौजीको जागिर खाएर छातीभरी तक्मा लाउँदै जमदार पद पाए’ राम नाथ भन्छन्, ‘उहाँले तिमीले पनि फौजी बन्नुपर्छ भन्नुहुन्थ्यो। हामी पनि १८ वर्ष कहिले पुगिन्छ भनेर दिन गन्दै बस्थ्यौं ।’
पढाइकै सिलसिला चलिरहँदा जेठो दाई नरेश सेनामा भर्ना भएको उनले सुनाए । ‘२०६२÷६३ को माओवादी जनआन्दोलले गाउँमा साह्रै दुःख पाइयो। दाई कक्षा १० मै पढाई छाडेर सेनामा गएको थियो’ राम सम्झँदै भन्छन्, ‘द्वन्द्वको कारणले आमाको भित्री मन दुखे पनि बाहिरी मनमा हर्ष हुन्थ्यो । हामी पनि दाइ आर्मी भएको देख्दा खुसी हुन्थ्यौं ।’ उनका अनुसार ३१ वर्षीय जेठो दाई नरेश २०६२ सालमा नेपाली सेनामा भर्ना भएका थिए। अहिले उनी हेटौंडामा कार्यरत छने । यस्तै जुम्ल्याहा भाई राम र लक्ष्मण २९ वर्षका भए। काठमाडौंमा कार्यरत राम सेनामा भर्ना भएको ८ वर्ष भयो भने जनकपुरमा कार्यरत लक्ष्मणले विगत १० वर्षदेखि सेनामा जागिर खाइरहेका छन् । यस्तै कान्छो भाई २५ वर्षीय दिलीपले पनि हालै सेनामा नाम निकालेर भर्ना भएका छन् ।
आफूहरुलाई बुवा गणेश नाथले नै सेनामा जागिर गर्न प्रेरणा दिएको बताउने राम सधै देशको सेवा गर्न चाहन्छन् । ६ पटकसम्म सेनाको परीक्षामा फेल भएका उनले सातौं प्रयासमा नाम निकालेका थिए। ‘मेरो जुम्ल्याहा भाई लक्ष्मण पनि ३ पटक फेल भएको थियो ।
जुन ठाउँमा नेपाली सेनामा भर्ना खुल्थ्यो त्यहाँ फर्म भर्न जाने उनी निराश हुँदै घर फर्कन्थे। सेनामा जागिर खान नसकिने सोच आएपछि राम २ पटक रोजगारीका लागि भारत गएका थिए । ‘दोस्रो पटक भारत जाँदा मनले मानेन । अब पुनः प्रयास गर्छु भनेर गाउँ फर्के’ आफ्नो संघर्षको कथा सुनाउँदै राम भन्छन्, ‘सयौं चोटी हारे पनि एक चोटी अवश्यक जित्छ भनेझै मैले पहिलो पटक प्रयास गरेको जनकपुर गएको थिए। जहाँ म पहिले हारेको थिए, त्यहाँ अन्तिम पटक जितियो ।’
उनी युवाहरुलाई विदेशको हण्डर खानुभन्दा नेपाली सेनामै काम गर्न सुझाव दिन्छन् । राम नाथ भन्छन्, ‘म आफ्नो पेसाप्रति गर्व गर्छु । आफ्नो देशको सेवा गर्न पाउनु, आफ्नै माटोमा काम गर्न पाउनु सौभाग्य हो ।’ सिपको कदर गर्ने मानिस नै सर्वश्रेष्ठ हुने उनी ठान्छन् । ‘मेरो बुवाले भन्नुहुन्थ्यो बुवाआमाले बनाएको घर र आफुले आर्जन गरेको सिपको जसले कदर गर्छ उ श्रेष्ठ मानिस हो । चोटले अचानोसरी भएको जीवन जति खारिएको जीवन अरु कुनै जीवन हुँदैन। केवल संघर्ष गर सफल त एकदिन अवश्य भइन्छ’ उनी भन्छने ।
हाल उनको परिवार कञ्चनपुरको वाणीमा बस्दै आएको छ ।
आजको दिनेश खबरबाट साभार











