
बाजुरा- आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनितिक दलहरुले उम्मेदवार छनोट गर्न थालेको छ । जिल्लाका ९ वटै पालिका र ६९ वडामा नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवारी छनोट गर्न लागेको छ । पार्टीले उम्मेदवारी छनोटका लागि उम्मेदवारी दर्ता कार्य पालिका स्तरमा नै गर्न थालेपछि बुढीगंगा नगरपालिकाको प्रमुखमा नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा पशुपति माध्यमिक विद्यालयका सह– शिक्षक तुलाबहादुर थापाले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । स्थायी शिक्षक पेशामा संलग्न थापाले पेशाबाट राजिनामा नै नगरी नेकपा एमाले बुढीगंगा नगर प्रमुखको लागि उम्मेदवारी दिएको नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले हस्ताक्षर गरेको सूचनामा थापाको नाम उल्लेख छ । पशुपति माध्यमिकि विद्यालयमा विगत लामो समयदेखि शिक्षक पेशामा रहेका थापाले शिक्षा विकास तथा समन्वय इकाईमा राजिनामा पेश नै नगरी पार्टीको उम्मेदवारीमा दर्ता गराएका हुन् ।
यता शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले स्थायी जागिर भएका शिक्षकले कुनै पनि दलको उम्मेदवार बन्न नपाउने बताउनु भएको छ । स्थायी जागिर भएका शिक्षकले आचार संहिता उल्लघन गरेको कार्यालयमा उजुरी आएका सम्बन्धित विद्यालयलाई सो विषयमा पत्र पठाउने पनि उहाँले बताउनुभयो ।पेशाको मर्यादा विपरित कार्य गर्ने स्थायी जागिरे शिक्षकलाई कानुनले कुनै पनि दलको उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ । तर जिल्लामा भने स्थायी जागिरे भएका शिक्षक नै पार्टीको उम्मेदवारमा प्रत्यक्ष संलग्न रहेका छन् ।। यस्तै खप्तड छेडेदह गाउँपालिकाको उपाध्यक्षमा नेपाल शिक्षक संघकी सदस्य तथा ब्रहमदेव आधारभुत विद्यालयकी बाल विकास सहजकर्ता सारा नाथले गाउँपालिका उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । शिक्षक पेशामा संलग्न नाथले पेशाबाट राजिनामा नै नगरी नेपाली काँग्रेस खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको गाउँ कार्य समिति सभापति हर्कबहादुर रावतले हस्ताक्षर गरेको सूचनामा नाथको नाम उल्लेख छ । विगत लामो समयदेखि शिक्षक पेशामा रहेकी नाथले शिक्षा विकास तथा समन्वय इकाईमा राजिनामा पेश नै नगरी पार्टीको उम्मेदवारीमा दर्ता गराएका हुन् ।












