
काठमाडौंः स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि बैसाख २७ गते रातीबाट सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार मतदानको ४८ घण्टा अघि देखि निर्वाचनको मौन अवधि लागु हुने गर्दछ ।
मौन अवधिको समय मतदान सम्पन्न नभए सम्म जारी रहने पनि सूचनामा उल्लेख गरिएको छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।
मंगलबार अपरान्ह निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठट्यौली शैलीमा मौन अवधिमा उम्मेदवार र मतदातालाई बन्देज नलागेको क्रियाकलापको विवरण सुनाउनु भएको थियो । ‘हरेक उम्मेदवारले मन मनै मैले चुनाव जित्छु कि जित्दिनँ ? मैले कस्तो प्रचारप्रसार गरेछु भनेर स्मरण र समीक्षा गर्न पाउने, ‘त्यो बाहेक प्रचारप्रसार र अरु क्रियाकलाप गर्न नपाउने भएको छ ।’
मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै उनले मतदातालाई पनि सजगता अपनाउन आग्रह गरेका छन् । ‘प्रत्येक मतदाता परिचयपत्र लिन जान पाउने, मतदाता शिक्षा भनेर स्वयंसेवक र कर्मचारीबाट मतदाता शिक्षाको बन्दोबस्त गरेको पनि उनले बताएका छन । ‘कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने ? मतपत्र कसरी पट्याउने भनेर सिक्न जान पाउने, मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने समे त भएको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा मौन अवधिभन्दा अगाडि राखिएका भौतिक प्रचार सामग्री समेत हटाइदिन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा पनि मौन अवधि सुरु भएपछि प्रचारप्रसारका सामग्री नराख्न सुझाव दिए । ‘(सामाजिक सञ्जालका) कुनै पनि खातामा सामग्री ननराख्न समेत निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार, उनीहरुले प्रचारप्रसार मौन अवधि र मतगणनाको समेत अनुगमन गरी निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनेछन् ।
मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ । यदि शून्य अवधिको व्यवस्था नराख्ने हो र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा स्वतन्त्र रुपमा आफ्नो विवेकको प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने, ‘कुन उम्मेदवारले यो बीचमा के के भने ? उनीहरुको अनुहार सम्झिने । चिन्ह सम्झिने । त्यो सबै सम्झेर आफ्नो विवेकको ऐनामा त्यसलाई हेर्ने । राम्रो मान्छेलाई आफ्नो मत प्रकट गर्ने । मतपेटिकामा मत हाल्ने, आउने, गर्न पाउने जस्ता कुराहरु मौन अवधिको समय भित्र गर्न हुने र नहुने कुराहरु रहेका छन ।