धनगढी– कञ्चनपुरको बेलौरीमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरीयाका २४ वर्षीय गणेश भण्डारी र अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटका २२ वर्षीय दिपेन्द्र केसी रहेका छन् ।
उनीहरुको साथबाट १४ दशमलव ७५ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुवै जनालाई बेलौरी बजारबाट सुपप्र ०१ ००८ प ८८७८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको बताइएको छ।
उनीहरुको साथबाट बरामद गरिएको लागुऔष आफूहरुका लागि नभई अरुले नै मगाएर ल्याएको बताएपछि धनगढीबाट थप ४ जनालाई पक्राउ गरिएको बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । धनगढीस्थित बसपार्कबाट कृष्णपुर–४ का २५ वर्षीय रोशन ऐर, साँफेबगर–४ का २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय विक्रम कुँवर र २३ वर्षीय क्षितिज बुढालाई पक्राउ गरिएको उनले बताए।
उनीहरुको साथबाट नचिनिएको लागुऔषध जस्तो अन्य ३० ट्याबलेट पनि पाइएको प्रहरी निरीक्षक भण्डारीले बताए । उनका अनुसार बेलौरीमा समातिएका भण्डारी र केसीले भारतबाट लागुऔषध ल्याएका हुन्। पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
दिनेश खबरबाट साभार