धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरेका केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गरेका हुन् ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले भट्ट सर्वसम्मत रुपमा दलको नेतामा चयन भएको जानकारी दिए ।‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार कमरेड ओमबिक्रम भाट पनि समर्थन गर्नुभएको छ,’ धामीले भने ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।शनिबार बसेको दलको बैठक बसे पनि दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन ।
दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा ९क० बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।
मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ ।
एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन् ।