काठमाडौँ — सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा
पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।’
प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन्। ’नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ,’ मन्त्री शर्माले भनिन् ।
कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएको थियो ।
धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।