बाजुरा = जिल्लाको बुढीनन्दा नगरपालिका –३ भुलेनमा छानो पछाडीको रुख ढडलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोको समेत मृत्यु भएको बताएका छन । स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि कोल्टीबाट प्रहरी टोली घटनास्थलमा गएको छ । घटनास्थलमा पुग्न करिव ५ घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ ।











