
दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो। विद्युतको इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ। मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए।
“अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ”, अध्यक्ष धामीले भने, “मजदुर पाइयो भने एक महिनाभित्र विद्युतको काम सकिने छ।” पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युतको ६८० मिटर लम्बाइको पाइप लाइन छ। विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ।