धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीलाई मंगलबार पूर्व–पश्चिम राजमार्गमा एक जना घाइते रहेको सूचना आयो।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौती चोकमा रातीको पौने ९ बजे एक जना सडक दुर्घटनामा घाइने भएका पुरुष अचेत अवस्थामा रहेका प्रहरीलाई खबर आएको हो। स्थानीयले ती पुरुषलाई मोटरसाइकलले ठक्क दिएको सूचना प्रहरीलाई दिए। मोटरसाइकल भने फरार भएको उनीहरुले प्रहरीलाई बताए।
तर घाइते तथा मोटरसाइकल चालक कसैको पनि परिचय खुलेको थिएन्। सडकमा अचेत अवस्थामा भेटिएका पुरुषलाई भने प्रहरीले पद्मा अस्पताल अत्तरिया ल्यायो। उनी जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका १८ वर्षिय करन कुमाल रहेको खुल्ल आयो। प्रहरीका अनुसार घाइते तथा मोटरसाइकल चालकले मादकपर्दाथ सेवन गरेका थिए।
प्रहरीको अनुसन्धानपछि घोडाघोडी नगरपालिका वडा नम्बर ६ कै क्षितिज चौधरी र करन कुमाल महेन्द्रनगर जाँदै गरेका खुल्यो। माथकपर्दाथ सेवन गरेका उनीहरु से ७ प २८७० नम्बरको मोटरसाइकलमा महेन्द्रनगर जाँदै थिए। चौधरीले मोटरसाइकल चलाएका थिए। उनले गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ को कठौती चोकमा ब्रेक लगाए।
मोटरसाइकलको पछाडि बसेका उनका साथी कुमाल खसे। उनी घाइते भए। अचेत अवस्थामा देखेपछि चौधरी डराए। उनले साथीलाई सडमै छोडेर भाग्ने निर्णय लिए। उनी फरार भए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार चौधरी बुधबार पक्राउ परेका छन्।
प्रहरीले उनलाई जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया चोकबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान थालेको बताएको छ।