बाजुरा —जिल्लाको प्रमुख पर्यटकिय स्थल मानिने छेडेदह तालमा वृक्षारोपण गरिएको छ । खप्तड छेडेदह गाउँपालिका ४, ५ र ७ वडाको बिचमा पर्ने छेडेदह तालमा कृष्ण जन्माष्टमीको अवसर पारेर वृक्षारोपण गरिएको हो ।छेडेदह साहित्य प्रतिष्ठानको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा भएको वृक्षारोपण कार्यक्रममा छेडेदह तालमा करिब ४ सय बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाले बताएका छन । छेडेदह तालको संरक्षण एंव प्रबद्र्धनमा वृक्षारोपणले केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरेर विरुवा रोपिएको अध्यक्ष बुढाले बताएका छन। ।
जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्य मानिने छेडेदह ताल संरक्षण, प्रवद्र्धन तथा सिमाना बिवादले ओझेलमा पर्दा तालमा लागेको पहिरोले भविष्यमा ठुलो संकट निम्त्याउने सम्भावना रहेकाले तत्काल सबैले ऐक्यवद्धताका साथ लाग्नु पर्नेमा प्रतिष्ठानका अध्यक्ष बुढाले जोड दिएका छन ।छेडेदहमा करिब बिश बढि प्रजातिका बिरुवाहरु रोपिएका थिए । उक्त तालमा रोपिएका बिरुवाहरुको संरक्षण गर्नेसके ताल नजिकै पुगेको पहिरो रोकथाममा सहयोग पुग्नुका साथै तालको आर्कषकले थप महिमा बढ्ने सहभागीहरुले विश्वास गरेका छन ।उक्त बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधिलगायत करिब १५ सय बढि आन्तरिक पर्यटकहरु ताल हेर्नका लागि आएका थिए ।तालको आँगनमा भएको औपचारिक कार्यक्रममा छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए भने विशिष्ट अथितिमा उपाध्यक्ष विशुदेवि नाथ रहेकी थिइन् ।











