काठमाडौं जेष्ट २९ :– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा शुरु भएको अभियान ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको सातौँ अर्थात अन्तिम संवाद श्रृंखला सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ ।
डा संग्रौलाले जेष्ठ ७ गते प्रदेश नम्बर १ बाट सुरु गरेको अभियान जेष्ठ २८ गते सुदुरपश्चिम प्रदेशमा समापन भएको हो।
शुक्रवार सुदूरपश्चिम प्रदेशका लागि आयोजित सातौँ अर्थात अन्तिम संवाद श्रृंखलामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु, चिकित्सक तथा सरोकारवालाहरु एवं कोभिडका संक्रमितहरु समेतसँग अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा दुई सय पचास जना भन्दा बढीको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा पुर्बमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एन पी साउद ले नेपाली जनतालाई कोभिडबाट बच्न र बचाउन नेपाली काङ्ग्रेसले गरेका विभिन्न प्रयासहरु अन्तर्गत डा संग्रौलाले आयोजना गरेका सात वटै श्रृंखलाले कोरोनाका संक्रमित तथा अरु सबै नागरिकलाई निकै लाभ पुगेको बताए ।
उनले यस्तो महामारीका बेलामा पनि सरकार नेपाली जनताको स्वास्थ्यको ध्यान दिनुको सट्टा सत्ता केन्द्रित भएर मन्त्री उपप्रधानमन्त्री थप्नमा मस्त भएको भन्दै यस्तो अवस्थामा नेपाली काँग्रेसले जनतालाई सक्दो सहयोग गर्नुपर्ने धारणा राख्दै यो अभियान एकदमै फलदायी रहेको बताए ।
यस कार्यक्रमका संयोजक एवं यस अभियानका अभियानकर्ता काँग्रेसका केन्द्रीय सदस्य डा। डिला संग्रौलाले देश कोरोना महामारीले आकुल ब्याकुल भएका बेला कम्युनिष्ट सरकारको स्वार्थ केन्द्रित हुदै महामारीका बेला संबिधान मिचेर चुनाव घोषणा गरेर जनतालाई थप कष्ट प्रदान गरेको बताउदै यो दु:खद् अवस्थामा नेपाली काँग्रेसले आफू जनतासँगै रहेको आभास दिलाइरहेको बताइन् ।
यस अभियानबाट संक्रमितलाई उर्जा, देशका नीति निर्माताका साथै सबै सर्वसाधारणलाई नै महामारीबाट बाच्न थोरै मात्र भए पनि सहयोग पुग्ने आशाका साथ आफूले सो अभियानको शुरुवात गरेको जानकारी डा। संग्रौलाले दिइन् ।
यस छैठौं श्रृंखलाका वक्ताहरुमा चिकित्सकहरु पनि थिए र उनीहरुले होम आइसोलेसनमा बस्दा तनावको व्यवस्थापनका साथै कोभिडबाट कसरी जोगिने भन्ने विषयमा विज्ञ चिकित्सकहरुले आफ्ना धारणा र सुझावहरु प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेद सर्जन मदन भण्डारीले कोरोना भाइरसको परिचय दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सका पद्दतिबाट कसरी ठीक पार्ने भन्ने बारेमा सुझावहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोभिडका बारेमा योग तथा पुनस्थापना विशेषज्ञ डा विनोद घिमिरे, बालरोग विशेषज्ञ प्र्रा डा।आरपि विच्छाले बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विचार तथा कोरोनाबाट बच्ने उपायहरुका बारेमा सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन बागमती प्रदेश सभा सदस्यविजया श्रेष्ठ केसीले गरेका थिए। यो कार्यक्रम यसअघि प्रदेश नं १ ,२ र बागमती गण्डकी र लुम्बिनी कर्णाली हुदै सुदुर पश्चिम प्रदेशमा सम्पन्न गरिसकिएको छ । ती प्रदेशमा सञ्चालन गरिएका कार्यक्रमहरुबाट धेरै मानिस लाभान्वित भएका र यसबाट धेरैमा यस महामारीका विषयमा जानकारी प्राप्त भएको भन्दै सहभागीहरुले यो अग्रसरताका लागी संयोजक डा डिला संग्रौला धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको नेपाली काग्रेसका जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्केले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।