
बाजुराः जिल्लामा उत्पादित अर्गानिक स्याउ धनगढी बजारमा पुगेका छन । बिहीबार धनगढी बसपार्कबाट जिल्लामा उत्पादित अर्गानिक स्याहरुको बिक्री सुरू भएको हो।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय तह र कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा धनगढी पुर्याइएको छ । गाउँपालिका र कृषि ज्ञान केन्द्रको ४०,४० प्रतिशत र फ्यूचर स्याउ कृषक समूहको २० प्रतिशत ढुवानी अनुदानमा किसानले उत्पादन गरेका बारीका स्याउ धनगढी पुगाइएको फ्यूचर स्याउ कृषि समूहका अध्यक्ष धनबहादुर रोकायाले बताएका छन । ।
जिल्लामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ। यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ। यो वर्ष जिल्लामा एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।जिल्लाका किसानहरुको स्याउ बजारीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका,कृषि ज्ञान केन्द्र बाजुरा, जिआइजेट र एलपिइडी र ग्रीप परियोजनाको पनि आर्थिक सहयोग रहेको कृषक समूहका अध्यक्ष धनबहादुर रोकायाले बताएका छन ।जिल्लाको स्याउ धनगढी ल्याउन कर्णाली प्रदेशको दैलेख, सुर्खेत हुँदै लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएर कैलाली पुग्नु परेको किसान कर्ण रोकायाले बताएका छन । गाउँपालिकासम्म ट्रक चल्ने सडक नभएकाले कर्णाली प्रदेश हुँदै धनगढी पुग्नु परेको रोकायाले बताएका छन । स्तरीय सडक नहुँदा ग्रामीण क्षेत्रको कृषि उपजको बजारीकरणमा समस्य भएको पनि उहाँले बताए ।
बिहीबार बिहानबाट जिल्लामा उत्पादित स्याउको बिक्री धनगढीमा सुरु भएको छ। अर्गानिक स्याउको मूल्य प्रति किलोग्राम १३० रुपैयाँका तोकिएको छ। जिल्लामा उत्पादित स्याउको बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । । जिल्लामा उत्पादित अन्य ठाँउका स्याउहरु पनि चाँडो भन्दा चाँडो बजारिकरण गरीने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।