बाजुराः हरेक वर्ष खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष कार्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कार्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ ।सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।
सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । त्यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ । यो जिल्लामा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता हो । प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ ।प्याराफिट सहीतको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाकै पर्यटन पर्बद्धन र विकासमा खेल प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने भएकोले प्रतियोगितालाई निरन्तरता दिदैं जाने अध्यक्ष रावतले बताएका छन् ।
खेल क्षेत्रको संभावना बोकेको आटीचौर खेल मैदान र समग्र पालिकाको पर्यटन पर्वद्धन मा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । युवाहरुको खेल प्रतिको आकर्षण बढाउन र खेल पर्यटनलाई बढावा दिन पालिकाले यस्ता कार्यक्रम नियमित गर्दै लैजाने उपाध्यक्ष नाथको भनाई छ ।बाजुराकै सुन्दर नगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागि हुन ईच्छुक खेलाडीहरुले टिम दर्ता यहि कार्तिक १० गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।
खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । खेलमा २५ बढी टिमले भाग लिने अनुमान आयोजकले गरेको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।फोटो सहितको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ । आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।