बझाङ/ बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरीएको छ । सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका –११ की ३० वर्षीया थापाको सुत्केरी हुन नसकेर पाठेघर फुटेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
सुत्केरी चेकजाँच गर्नका लागि जिल्ला अस्पताल बझाङमा मंसिर २८ गते आएकी थापा चेकजाँच गरि सोही दिन घर फर्किएकी थिइन्। सुत्केरी व्यथाले च्यापेपछि आइतबार जिल्ला अस्पताल बझाङमा भर्ना हुनुभएकी थापाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने डाक्टरले सुझाव दिएपछि बिरामीका आफन्तले भने मानेका थिएनन् ।
जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख इन्द्रबहादुर शाहले भन्नुभयो, “यो समस्या आएपछि बैतडीबाट विशेषज्ञ डाक्टर बोलाएका थियौं । राति १० बजे बच्चाले दिसा खाएको थाहा भएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सुझाव दिँदा बिरामीका आफन्तले मानेनन् । फेरि राति २ बजे बच्चाको श्वासप्रश्वासमा समस्या भई बच्चाको पेटमा नै मृत्यु भएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भएको थियो । आमाको पेट अस्वाभाविक रुपमा सुन्निन थालेको थियो । ” उहाँले बताउनुभयो ।
वर्षेनी जिल्लामा उपचार हुन नसकेर धेरै सुत्केरीको रिफर गर्नुपर्ने अवस्था रहेको छ । जिल्लामा २५ शैयाको अस्पताल भए पनि दक्ष जनशक्ति र आधुनिक उपकरण नभएर जिल्लामा धेरै सुत्केरी आमा अकालमै ज्यान गुमाउन बाध्य रहेका छन् ।











