हेलम्बु, सिन्धुपाल्चोक —अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ । नदीमा पानीको सतह बढेपछि सतर्क भएका गाउँलेले मंगलबारको रात घर छाड्दा धेरैको ज्यान जोगियो । उक्त रात भाग्न नसकेर बेपत्ता केही मत्स्य फार्म सञ्चालक र स्थानीयसहित १४ जनाको अवस्था शुक्रबारसम्म केही खुलेको छैन ।
सिन्धुपाल्चोक सरदमुकाम चौताराबाट करिब ४० किलोमिटर पश्चिमको हेलम्बु बाढीपछि सडक र सञ्चार सम्बन्धविच्छेदको अवस्थामा छ । बाढीले ठाउँठाउँमा सडक, पुल, बिजुली र फोनका पोल बगाएको छ । पर्यटकीय गाउँ हेलम्बु यतिबेला उजाड बगर बनेको छ । बाढीपीडितका लागि टेन्ट र खाद्यान्नको जोहो गर्दै रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘यहाँ बिजुली, फोन छैन । मोबाइलको नेटवर्क पनि छैन । सडक पनि बाढीले लगेकाले हामीलाई साह्रै सकस भएको छ ।’ बाढीले यहाँका अनुमानित सय घर बगाएको उनले बताए । ६ सयभन्दा बढी परिवार घरबारविहीन भएका छन् । ‘यस्तो विपद्का बेला यहाँ कोही आउँदैनन्,’ उनले गुनासो गरे, ‘यताउति विपद्को बैठक पनि मेलम्चीमै बस्छन्, हामीलाई कसले हेर्ने ?
मेलम्चीको मुहानस्थलबाट एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुका पुराना चार गाउँका सबै संरचना बगाएको हो । झन्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुका बजारभर बाढीले बालुवा ल्याएर थुपारेको छ । ‘विस्थापितका लागि बास र गाँसको व्यवस्थापन गरिरहेका छौं । साँखु, मेलचौर हुँदै कुटुम्साङ हेलम्बु जोड्ने वैकल्पिक बाटोका लागि प्रयासरत छौं,’ अध्यक्ष शेर्पाले भने ।
बाढीले ध्वस्त बनेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मुख्य बजारक्षेत्र र ध्वस्त सडक देखाउँदै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा तटीय क्षेत्रमा बाढीले पूरै नबगाए पनि भत्काएका, लडाएका घरका भग्नावशेषबाट स्थानीयवासीले काठपात ओसार्दै छन् । बाढी फेरि आउने हो कि भन्ने धेरैलाई त्रास छ । अरनिको राजमार्ग अन्तर्गतको मेलम्ची बजारसँग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा यहाँका जनप्रतिनिधि, स्थानीय आफैं कस्सिएका छन् । केही बेरअघि आफूसँग छुटेका दाजु गणेशलाई मेलम्ची नदीले बेपत्ता बनाएको सम्झँदै हेलम्बु–२ का ४५ वर्षीय कृष्ण ज्योतिले आफूलाई सम्हाल्न सकेका छैनन् । ‘माछा फार्ममा गएका दाजुसँगै धेरैजना बेपत्ता भए, यहाँका थुप्रै घर नदीले निल्यो,’ उनले भने, ‘त्यसैमाथि पनि सडक भास्सियो, हामी त दलदलमा बसेझैं अनुभव भइरहेछ ।’ हेलम्बुको तटीय क्षेत्रमा उनका दाजुको सहित १० वटा माछा फार्म र केही रिसोर्ट मेलम्चीले बगाएर बगरमा परिणत भएको उनले बताए ।