गोबिन्द्र राज तिमिल्सेना, बाजुरा/ जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ७ रजातोलीमा भुवा पर्व हामी सबैको गर्व भन्ने मुल नाराका साथ हिजो बेलुकी बाट भब्यताका साथ सञ्चालन भएको छ ।
राति करिब १० बजेतिर भुवा खाडोमा मुडा सल्काएर धुमधामका साथ सुरु गरिएको आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ बिषेष गरी बाजुरा जिल्लाको बडिमालिका ७ रजातोलीमा भब्यताका साथ मनाइने गरीन्छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।जिल्लाको बडिमालिका नगरपालिका ७ रजातोलीमा सदा बर्ष यो पर्वलाई धुमधामका साथ मनाइदै आएको छ ।
यो बर्ष को भुवा पर्व हिजो रातिदेखि सुरु गरिएको भुवा पर्व मेला ब्यबस्थापन समिति संयोजक उमाकान्त पाध्यायले जानकारी दिनुभयो ।उहाँले दिएको जानकारी अनुसार भुवा पर्वमा देउडा खेलको लागी खत्याड गाँउपालिका वडा।नम्बर ३ स्थायी घर भएका चर्चित लाईफ देउडा खेलाडी ललिजंग शाही र टिकापुर नगरपालिका वडा।नं।१ बस्दै आएकी चर्चित लाइफ देउडा खेलाडी चरित्रा शाही लाई भुवा पर्वमा देउडा खेलको लागी आमन्त्रण गरिएको उहाँले बताएका छन । परम्परागत काल देखि मनाइदै आएको यो पर्वलाई यो बर्ष पनि भब्यताका साथ सम्पन्न गर्ने उहाले बताए ।हिजो रातभर विभिन्न किसिमका देउडा,मागल,चाचड गित गाएर रातभर रमाइलो गरिएको थियो ।
पुस माघको चिसोलाई मध्यनजर गर्दै भुवा पर्बमा रमाउनेको निकै ताति थियो । रातभर देउडा खेलेर बिहान पख राका बालेर भोस्सो लगाएर सबै घरतिर फर्की नुहाएर पुन अन्य खेलको लागि त्यहाँ जाने परम्परा रहेको छ । भुवा पर्व हिजो रातिबाट सुरु भई यहि पौष २८ गते समापन गरीने आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ । भुवा पर्वलाई थप ब्यबस्थित बनाउन स्वयमसवक परिचालन गरी भुर्वा पर्व अबधिभर मदिरा बिक्री बितरण सेवनमा रोकसमेत लगाइएको आयोजकले जनाएको छ । यदि कोहि कसैले भुवा पर्व अबधिभर जाँड,रक्सि खएर होहल्ला गरी,भुवा पर्व बिथोल्न खोज्ने जो सुकैलाई पनि कडा भन्दा कडा कार्बाही गरीने आयोजकले बताएको छ ।
भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । यो पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको गाँउका स्थानियले बताउने गरेका छन ।पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ ।
ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली भोली बिहान भारी खेलहरु खेल्ने प्रचलन रहेको छ ।आयोजक भुवा पर्व ब्यबस्थापन समितिले यो बर्षको भुवो पर्वलाई थप धुमधाम बनाउन बिभिन्न ठाँउबाट पत्राचार समेत गरिएको थियो । भुर्वा पर्वको लागी आर्थिह सहयोग बडिमालिका नगरपालिका वडा।नं ७ को वडा कार्यालय र बुर्दालो दल्लेडी वन उपभोक्ताले गरेको आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ ।