साहित्यलाई सदैब राम्रो नजरले हेर्ने मुक्तककार श्रेष्ठकाे साहित्य लेख्ने हातले थप तिख्रता पाओस्
साहित्यकार पुष्पा श्रेष्ठ ( पुसु) ९ उत्कृष्ट मुक्तकहरु
मुक्तक १
कहिले परदेशमा ज्यान जान्छ युवाको
साथैमा पछ्याउँदै ज्ञान जान्छ युवाको
रोजगारी देशमा सृजना गर्न सक्नुपर्छ
खाडी मुलुकतिर ध्यान जान्छ युवाको
मुक्तक २
प्रजा मार्ने बाहाना खोज्ने गर्छ सरकारले
कसरी भ्रष्टाचार गर्ने सोच्ने गर्छ सरकारले
निर्दोष सबैलाई त कारागारमा कोच्ने गर्छ
हेर जनतामा गोली ठोक्ने गर्छ सरकारले
मुक्तक ३
आँखाभरि घृणाकै आगो बलेको छ
सबैले भन्छन् जात प्रथा ढलेको छ
दलित जनजाती भनिरहन्छन् यहाँ
विद्यालयमै त बाहुनवाद चलेको छ
मुक्तक ४
विभिन्न समयको खेल हो जिन्दगी
आँसूको थोपाको भेल हो जिन्दगी
भन्नेहरूले यहीँ भन्ने गर्छन् महोदय
हाँसोसँगै रोदनको मेल हो जिन्दगी
मुक्तक ५
कहाँ सजाउँ तिम्रो तस्बिर आँखैमा आइरहेको छ
खै कहाँ राखुँ तिम्रो धोकालाई,मुटू बिझाइरहेको छ
कहिल्यै सम्झन नपरोस् तिमी मेरी थियौ या थिएनौ
कसरी भनौँ तिम्रो नै यादले पलपल सताइरहेको छ
मुक्तक ६
आँफैलाई दुःखमा पारी बोक्नु हुन्छ बुबा
छोराको आसलाई मारी बोक्नु हुन्छ बुबा
छोरा दिनरात कहाँ जान्छ थाहा नै हुँदैन
नाम्लो लगाईकन भारी बोक्नु हुन्छ बुबा
मुक्तक ७
बिहे गरेर पराई हुन रहर छैन् आमा
शब्दहरुले मन छुन रहर छैन् आमा
बिहे पछि आँसूले मुख धुनुपर्छ अरे,
आँसूले त मुख धुन रहर छैन् आमा।
मुक्तक ८
अरुको मनमा म हराउने नगर्नु कुरा
हजुरकै नामको लाउन मन छ चुरा
सिन्दुर पोते हजुरकै नामको लाउँछु
ढुक्क हुनुस् प्रिय म हजुरकै हुँ पुरा
मुक्तक ९
पुर्खाको बलिदान अनि उपहार हो देश नेपाल
हिमाल,पहाड र तराईको प्यार हो देश नेपाल
बहुभाषा,बहुधर्म,बहुसंस्कृति चिनारी देशको
विविधताले भरपूर एक संसार हो देश नेपाल
✍️ पुष्पा श्रेष्ठ ( पुसु )
– रुपा गाउँपालिका-७, कास्की