बाजुराः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ । मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिनुभयो ।
बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनुहुनेछ तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।
नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गर्नुभएको छ भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा संघीय राजधानी काठमाडौंमा छन् ।
मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेका छन् । स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन् ।