
धनगढी– सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको छ ।
बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बुधबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् ।
कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले ल्याएको बजेट असंवैधानिक रहेकाले विरोध गरेको बताए ।
‘सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न बनेको विधेयक २०७४ संशोधन गर्न ल्याएको अध्यादेश संविधानको धारा २०२ र सुदूरपश्चिम प्रदेशसभा नियमावली परिच्छेद १४ को प्रक्रिया नपुगाएकाले बजेट असंवैधानिक छ,’ उनले भने ।
प्रतिपक्षी दलले प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएको दुई दिनपछि बजेट असंवैधानिक रहेको भन्दै विरोध जनाएका हुन् । यसअघि सोमबार र मंगलबारको बैठकमा सहभागी उनीहरुले छलफलमा भाग लिएर बजेटमाथि विरोध जनाएका थिए । सत्ता पक्षीय प्रदेशसभा सदस्यहरु समेत सरकारले विचौलियाको सेटिङमा बजेट ल्याएको भन्दै चर्को विरोध जनाउँदै आएका छन् ।