बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि ५२ करोड २१ लाख बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँपालिकाको १५ औं गाउँसभा तथा बजेट अधिवेशनबाट उपाध्यक्ष बिशुदेवि नाथले आगामी आर्थिक बर्षका लागि ५२ करोड २१ लाख ७७ हजार ८ सय २८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०र८१ को अनुमानित बजेट ५० करोड ५९ लाख ३२ हजार ८ सय ३१ रुपैयाँ प्रस्ताव गरेको थियो । प्रस्तावित बजेटको वास्तविक आय ४१ करोड २ लाख ८१ हजार ५ सय ८४ रुपैयाँ मध्ये गाउँपालिकाले हालसम्म ३३ करोड ६ हजार ९ सय ६१ रुपैयाँ अर्थात चालुगत ७१ दशमलव ७ प्रतिशत र पुजीगत गरेर कुल ६५ दशमलव २२ प्रतिशत बजेट खर्च भएको गाउँपालिका उपाध्यक्ष नाथले बताएकी छन् ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको प्रस्तावित बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष नाथले बताइन् । बजेट अधिवेशनबाट कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्चका लागि ९ करोड १६ लाख ८७ हजार, शिक्षा युवा तथा खेलकुद २ करोड, स्वास्थ्य सेवा ९० लाख, क्रमागत योजनातर्फ २ करोड, कृषि विकासतर्फ ३० लाख बजेट अनुमान गरेको छ ।
त्यस्तै सुशासन तथा संस्थागत विकासमा ४५ लाख, पशु सेवा शाखा १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन १० लाख, पूर्वाधार विकासमा ४ करोड ७३ लाख, सामाजिक विकास १ करोड, आर्थिक विकास तर्फ १ करोड बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताए । त्यस्तै गाउँपालिकाको १५ औं गाउँसभाबाट आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।