संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गर्नुभएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेल [email protected] मा पठाउन अनुरोध गरिएको छ ।
पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।












