
बाजुरा,२७ जेठ- बुढीगंगा नगरपालिकाको बाम्का बजारमा गएको शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर पड्किएर भएको आगलागी पिडितका लागि राहत जुट्न थालेको छ ।
विभिन्न संघसंस्था र व्यक्तिहरुले बाम्का बजारमा भएको आगलागी घटनाका पिडितलाई सहयोग पुग्ने गरी आर्थिक सहयोग जुट्न थालेको छ ।
त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको शनिबार संयुक्त बैठक बसेर राहत संकलन तथा व्यवस्थान समिति गठन गरी उक्त समितिको खाता संचालनपछि राहतका लागि आर्थिक सहयोग हुन थालेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख तथा राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक रामबहादुर बानियाँले बताएका छन् ।
राहत संकलनका लागि स्थानीय र देश विदेशमा रहेका व्यक्ति विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता अनुसार राहतका लागि आर्थिक संकलन हुन थालेको समितिका सदस्य तथा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले जानकारी दिएका छन् ।
बाम्कामा भएको आगलागी पिडितका लागि त्रिवेणी नगरपालिका स्थायी घर भई हाल अमेरिका बसोबास गर्दै आएकी निर्मण गिरीले राहत संकलन तथा व्यवस्थापन समितिको खातामा एकाउन्न हजार एक सय ५१ रुपैया सहयोग गरेकी छन् ।
यस्तै त्रिवेणी नगरपालिका कृषि शाखा प्रमुख मनबहादुर रावलले दुइ हजार पाँच सय,बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीले पाँच हजार पाँच,बुढीगंगा नगरपालिका १ डुंग्रीका लोग थापाले तीन हजार,सोही नगरपालिका ७ का मीन कटुवालले चार हजार ११ रुपैया सहयोग गरेका छन् ।
यस्तै ग्रामिण जीवीको पार्जनमा कार्यरत लक्ष्मीराज पाध्यायले तीन हजार र बुढीगंगा नगरपालिका ६ माल्ताका लालराज जैशीले एक हजार ५० गरी ६९ हजार सात सय १७ रुपैया सहयोग आएको छ ।
यस भन्दा पहिले बुढीगंगाले पाँच लाख,त्रिवेणीले दश लाख,बुढीनन्दाले एक लाख,हिमालीले एक लाख एघार हजार ११,स्वामीकार्तिकले एक लाख एक हजार सहयोग गर्ने प्रतिवद्धता जनाइ सकेका छन् ।
शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटमा बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ ।
त्यस्तै उक्त आगलागीबाट १९ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
