
बाजुरा,३०जेठ- जिल्लाको उत्तरी भेगको बुढीनन्दा नगरपालिका शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पालिकाका १० वटै वडामा रहेका जन्मदेखि ५९ महिनाका बालबालिकाहरुले खोपको अवस्था र उनीहरुले खाृपबाट बञ्चित भएकाहरुको तथ्यांक संकलन गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक ओमजंग शाहीले जानकारी दिएका छन्।
उनले दिएको जानकारी अनुसार वडामा रहेका बालबालिकाहरुले नियमित रुपमा खोप लिएका र नलिएकाहरुको घरधुरी सर्वेक्षण गरी पालिकालाई उक्त घोषणा गरिएको बताए ।
नगरपालिकामा ०देखि १५ महिनाका तीन सय ४७ जना बालबालिका र १६ देखि ५९ महिनाका एक हजार एक सय ३३ जना बालबालिकाहरुले सरकारको राष्ट्रिय खोप तालिका बमोजिम पूर्ण भएको पाइएको बताएका छन् ।
नगरपालिका स्वास्थ्य शाखा संयोजक शाहीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार दश जना बालबालिकाले कुनै प्रकारको खोप नलगाएको र ३० जनाले आशिंक खोप लगाएको उल्लेख गरिएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार खोप नपाएका र आंशिक रुपमा खोप लगाएकाहरुलाई पुन ः खोप सञ्चालन गरी खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा बालबालिकाहरुलाई खोपको दायरामा ल्याउन सक्रिय भएर काम गर्ने स्वयम सेविका, स्वास्थ्यकर्मीलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
दश वटै वडाका रहेका स्वयम सेविकाहरुमध्ये उत्कृष्ट काम गर्ने स्वयम सेविका र स्वास्थ्यकर्मीलाई प्रमाण पत्रले प्रशंसा गरिएको हो ।
यस्तै ३० वर्षसम्म स्वास्थ्य क्षेत्रमा काम गरेर सेवा निवृत्त भएका गंग शाहीलाई प्रमाण पत्रले सम्मान सहित विदाई गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख रामबहादुर बोहरा, ८ वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, कर्मचारी र पत्रकार सहभागी थिए । स्वास्थ्य शाखा संयोजक ओमजंग शाहीले कार्यक्रम संचालन गरेका थिए ।
