
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीनिकट संचारकर्मीहरुले लगानी गरेको एक रेष्टुरेण्टले सार्वजनिक जग्गामा पार्किङस्थल बनाउन नपाएको झोंकमा खाना बनाएर सस्तो र निःशुल्क बितरण गर्दै आएको एक संस्थाको संरचना भत्काउन लगाएका छन्।
सरकारले जारी गरेको निषेधआज्ञाका कारण दुई छाक खान नै समस्यामा परेका नगरवासीलाई निःशुल्क र सस्तोमा खाना बनाएर समाजसेवा गर्दै गरेको हाम्रो टिम नेपाल नामक संस्थाका खाना बनाउने सामान महानगरका प्रहरी लगाएर तोडफोड र फाल्ने काम भएको हो।
काठमाडौंको बबरमहलमा सरकारी जग्गा हडपेर ठूला ठूला भवन र महल बनाउने दिपक मल्होत्राका संरचना भत्काउन नसक्ने उल्टै ज्यूहजुरी गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारी जग्गा कब्जा गरेको भन्दै रेष्टुरेण्टको पार्किङ बनाउनकै लागि नगर प्रहरीलाई दुरुपयोग गरेका हुन्।
विपन्न नागरिकको सेवा गरेको देखिनसहने र विपन्नलाई खाना खुवाउँदा महानगरको सौन्दर्य घट्ने कुतर्क गर्ने महानगरका मेयर शाक्यले हाम्रो टिम नेपालले बनाएको अस्थायी टहरा, पाल र टेण्ट भत्काउन लगाएर नजिकै रहेको रेष्टुरेन्टको सुविधाको लागि यस्तो हर्कत गरेका हुन्।
महानगरपालिकाले सोमबार दिउँसो अनामनगरको पूर्वीगेटबाट एक सय मिटर पूर्वमा रहेको सरकारी जग्गा खाली गरेर छेउमै रहेको युनियन हाउस नामक एक रेष्टुरेण्टको सुविधानको लागि नगर प्रहरीलाई प्रयोग गरेका हुन्।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले सरकारी जग्गा अधिग्रहण गरी बसेकाले सरकारी जग्गा खाली गरी सो ठाउँमा हरियाली पार्क बनाउने दाबी गरेका छन्।
समाजसेवामा लागेका हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायतको टिमलाई प्रहरी लगाएर पक्राउ गरी महानगरपालिकाले पुरुषार्थ प्रदर्शन गरेको छ।
युनियन हाउसले विगत विगत १० वर्षदेखि सो जग्गालाई कब्जा गरेर पार्किङ गर्दै आएको सरकारी जग्गामा केही महिना यता हाम्रो टिम नेपालले खाना पकाएर गरिब तथा असहायलाई निशुल्क वितरण गर्दै आएको थियो।
सोही स्थानमा उनीहरुले मेलम्ची बाढीबाट प्रभावितका लागि खाध्यान्न र ब्ल्यांकेट लगायत सामग्री समेत राख्दै आएका थिए। तर, प्रधानमन्त्री कार्यालयकै निर्देशनमा हाम्रो टिम नेपालका संयोजक पन्त सहित १८ जनालाई पक्राउ गरिएको छ।
नगर प्रहरी र नेपाल प्रहरीले खाना पकाउने स्थल र सहयोगको रुपममा आएको लत्ता कपडा समेत फालिदिएको छ। प्रधानमन्त्री ओलीकै लगानी रहेको एक अनलाइनका मालिक मनोजराज पाण्डेले युनियन हाउसको पार्किङ बनाएर राखेका थिए।
युनियन हाउसमा रेष्टुरेण्टमा एमाले निकटका नेता, कार्यकर्ता र कर्मचारीको लन्च र डिनर मिटिङस्थालको रुपमा प्रयोग हुँदै आएको छ। केही समयअघि प्रधानमन्त्री ओलीको नाममा पाण्डेले चन्दा उठाउँदै हिँडेको भनेर सामाजिक संजालमा भाइरल भएको थियो।
युनियन हाउस नामक रेष्टुरन्टले एक दशकसम्म निशुल्क पार्किङ गर्न दिएको महानगरपालिकाले अहिले समाजसेवामा क्रियाशिल हाम्रो टिम नेपालका अभियान्तालाई भने सरकारी जग्गा कब्जाको आरोप लगाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार सो स्थानमा हरियाली पार्क बनाउने दाबी गरेका छन्।
महानगरले त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताएको छ । टहरा हटाउने सिलिसिलामा झडप समेत भएको थियो भने अवरोध गरेको भन्दै अभियन्ताहरुलाई पक्राउ गरेको थियो।