
चितवन — नेपाली सेनाको आफ्नै गणका हुद्दा भरत गुरुङलाई गोली हानेर हत्या आरोपमा ‘दि फेमस महिन्द्र दल गण’का सिपाही गंगाधर ढकाललाई चितवन प्रहरीले पक्राउ गरेको छ । यो गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ ।
चितवन प्रहरीले आरोपित गंगाधर ढकालबाट एसएमजी हतियारसहित मोटरसाइकल बरामद गरेको छ ।
बिहीबार बिहान भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा खेत नजिक धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरतको शव फेला परेको थियो ।
टाउकोमा गोली लागेको जस्तो घाउ देखिन्थ्यो । आडैमा एउटा खोका पनि थियो । ‘त्यसैले हामीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायौं । त्यसमा संलग्न भएको देखिने एकजना व्यक्ति गंगाधर ढकाललाई बिहीबार नै हामीले समायौं,’ घटनाका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । प्रहरीले एसएमजी हतियारसमेत बरामद गरेको छ ।
ढकालको घर भरतपुर महानगरपालिका–२१ मा छ । प्रहरीले उनलाई भरतपुर–२० चनौलीबाट पक्रेको हो । ढकाल पक्राउ परेपछि उनको बयानको आधारमा भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी हतियार बरामद भएको थियो । ढकालले बैंकबाट गुरुङको नौ लाख रुपैयाँ झिकेर श्रीमती र बुबालाई बुझाएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीले बताए ।
गुरुङको चेकमा आफैले सही दस्तखत गरेर ढकालले बैंकबाट पैसा निकाल्ने गरेको एसपी अधिकारीले जानकारी गराए । गुरुङको बैंकको खाली चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट चेकमा भरत गुरुङको सही आफैले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको छ । त्योमध्ये एक लाख रुपैयाँ आफैले राखेको, आठ लाख रुपैयाँ परिवारलाई दिएको एसपी अधिकारीले बताए ।