गोरखा : बजारमा मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे सचेतना र्याली आयोजना गरेको छ । संक्रमण दर न्यूनिकरण गर्ने उद्देश्यले आइतबार बिहान ‘तपाईँको मास्क खोइ ? भन्ने अभियान सञ्चालन गरेको हो । जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनप्रतीदिन बढ्दै गएको छ ।
बिहान आठ बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भएको र्यालीमा प्रमुख जिल्ला अधिकारी काशिनाथ शर्मा पौडेल, गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, प्रहरी उपरीक्षक शेखर खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठ लगायत प्रहरी तथा सेवा केन्द्रका पदाधिकारीहरु सहभागी भएका थिए । र्याली गोरखा नगरपालिका ७ नयाँबसपार्कसम्म पुगेको थियो ।
र्यालीमा सहभागीहरुले मास्क नलगाई हिड्ने ब्यक्ति, सवारी चालक, पसले, ग्राहक सबैलाई मास्क लगाउन आग्रह गरेका थिए । र्यालीका सहभागीले मास्क नलगाई हिड्ने ज्येष्ठ नागरिक, अतिनिम्न आर्थिक स्थितिका व्यक्तिहरुलाई मास्क पनि प्रदान गरेका थिए ।
गत वैशाखदेखि दोस्रो भेरियण्टको कोरोना महामारी फैलिएपछि प्रहरी र सामुदायिक सेवाकेन्द्रले पहिलो पटक तपाईँको मास्क खोई अभियान सञ्चालन गरेको थियो । गत असारमा कोरोना संक्रमितको संख्या घटेपछि निषेधाज्ञा खुकुलो बनाइएको थियो ।
‘संक्रमितको संख्या घटेर निषेधाज्ञा खुकुलो हुन थालेपछि एकातिर मास्क लगाउनेको संख्या घट्न थाल्यो, अर्कातिर कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो त्यसैले फेरि मास्क लगाउन सचेत गराउन र्यालीको आयोजना गरिएको हो , सामुदायिक सेवाकेन्द्र गोरखाका अध्यक्ष कैलाशबाबु श्रेष्ठले भने ।
अहिले गोरखामा सक्रिय संक्रमितको संख्या पाँचसय २६ जना पुगिसकेको बताएको छ ।