बाजुरा : साहित्यकार एवम् समाजसेवी रीता शाहीको पहलमा कर्णाली प्रदेशको हुम्ला जिल्लाका अति विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको छ । भौगोलिक विकटता र गरिबीका कारण भात खान पनि दशैं तिहार कुर्न पर्ने हुम्लाका स्थानीयवासीहरुलाई शाहीको पहलमा खाधान्न सामग्री वितरण गरिएको हो ।
हुम्ला ताजकोट गाउँपालिकाका अति विपन्न १० परिवारलाई चामल ,दाल, साबुन ,भुजा ,बिस्कुट हस्तान्तरण गरेको शाहीले बताएकी छन् । केही साता पहिले हुम्ला पुगेकी शाहीले त्यहाँको अवस्थाको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएपछि विदेशलाई कर्मभूमी बनाएका मनकारी नेपालीहरुले सहयोग गरेका थिए ।
राज्यको समेत नजर पुग्न नसकेको हुम्लाको उक्त क्षेत्रमा शाहीको पहलमा थोरै सहयोग भए पनि सहयोग पाएको भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन् । साथै शाहीले विपन्न गरिब दिनदुखीमा सहयोग गने आम सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् ।