काठमाडौँ: एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका अधिकांश नेताहरुले पार्टी एकताको सम्भावना कमजोर बन्दैगएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बुद्धनगरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष केपी ओली नै एकताको पक्षमा नरहेको भन्दै उनीहरुले नेता नेपाललाई वैकल्पिक बाटोमा जानुपर्ने सुझाव दिएका छन् ।
दुई दिन देखि चलेको बैठकमा ५५ नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । धेरै जसो नेताहरुले ओलीका व्यवहारले गर्दा एकता असम्भवप्राय: भएको भन्दै केहीले कार्यदलको प्रतिवेदनमाथि पनि प्रश्न उठाएका थिए ।
नेपाल निकट जगन्नाथ खतिवडाले ओलीले भ्रम मात्रै छर्ने गरेको र उनको भ्रममा नपर्न भनेका थिए । बैठकमा अरु नेताहरुले पनि सम्मानजनक व्यवहार भएमा मात्रै एकता गर्ने नत्र वैकल्पिक बाटोमा जाने अभिव्यक्ति दिएका थिए ।
यथा अवस्थामा नै एकता गर्न तयार भए ओलीसँग झुक्नु पर्ने धेरै नेताहरुको तर्क थियो । यस वाहेक कार्यदलको प्रतिवेदनमाथि पनि प्रश्न उठेको थियो ।
नेपाल समूहका एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले भने साउन २४ गतेसम्म पर्खन सबैलाई आग्रह गरेका छन् । २४ गते ओली पक्षको बैठक भएकाले त्यतिन्जेल पर्खनुपर्ने केही नेताहरुको राय थियो । यसमा नेता नेपालले पनि सहमति जनाएका थिए ।
तैपनि विभाजन वा नयाँ पार्टी गठनको बाटोमा जान हतार नगर्न धेरैको निष्कर्ष थियो । “माधव कमरेडले साउन २४ गतेसम्म हेरौँ भन्नुभएको छ । सम्मानजनक एकतालाई नै प्राथमिकता दिनेमा उहाँ हुनुहुन्छ, “ नेपाल पक्षका एक नेताले अन्नपूर्णसँग भने “समग्रमा ओली पक्षको निर्णय अनुसार अगाडि बढ्नेमा हामी छौँ ।“ ओली पक्षले भने नेपाल समूहका सबै बैठकलाई अनाधिकृत गतिविधि बन्दै यी बैठक रोक्न निर्देशन दिँदैआएको छ । बिहीबार एक विज्ञफ्ति नै जारी गरी ओली पक्षले नेपाल समूहलाई बैठक रोक्न चेतावनी समेत दिएको छ ।
अन्नपूर्ण पोष्टबाट साभार