
बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा रहेको रेडियो पौरखी ९०.४ मेगाहर्जका कर्मचारीहरुले पारिश्रमिक नपाएपछि शनिबारबाट रेडियोमा ताला लगाएका छन् ।
महामारीका बेला पनि फ्रन्ट लाइनमा बसेर काम गर्दै ज्यान जोखिममा काम गर्दै आएका कर्मचारीले तलव नपाउदा तालावन्दी गरेका हुन ।
रेडियोका कर्मचारीहरुको एक वर्षको तलब कटौती गरी सात महिनाको तलव दिएपछि उनीहरुले आपत्ति जनाउदै रेडियोको तालावन्दी गरेका हुन् । कर्मचारीहरुले रेडियोको ताला बुझाएपछि एक जनाले मात्र रेडियो संचालन गर्न नसकिने भएकाले रेडियो शनिबारबाट बन्द भएको एक कर्मचारीले बताएका छन् ।
कर्मचारीले ज्यानको प्रवाह समेत नगरी रेडियोमा काम गर्दा समेत मुल्याङ्कन गर्नुको साटो उल्टै संचालक समितिर्ले ै पाउनु पर्ने सेवा सुविधा समेत कटौती गरेको रेडियोमा कार्यरत एक कर्मचारीले गुनासो गरेका छन् ।
रेडियो संचालक समितिले २०७७ असोज १ गते गरेको निर्णयानुसार मासिक रुपमा तलव दिने निर्णय भएपनि उनीहरुलाई १२ महिनाको हस्ताक्षर गराउदै सात महिनाको तलव दिन थालेपछि उनीहरुले रेडियोको ताला बुझाएको पाइएको छ ।
संचालक समितिका अध्यक्ष सहितका पदाधिकारीले उनीहरुलाई सात महिनाको तलव दिदैै पाँच महिनाको तलव समेत नदिएपछि उनीहरुले असन्तुष्टी जनाउदै ताला बुझाएका हुन् ।
रेडियोमा काम गर्दा संचालक समितिले विदा समेत कटौती गर्ने र काम नगरे तलबबाट समेत रकम काट्ने गर्दा पनि मासिक रुपमा पाउनु पर्ने पारिश्रमिक नपाएकाले रेडियोको ताला बुझाउन बाध्य भएको रेडियोका कर्मचारीले बताएका छन् ।
रेडियोमा कार्यरत कर्मचारीहरुले मागहरु पुरा नभएमा काममा नफर्किने बताएका छन् । रेडियोमा कार्यरत कर्मचारीले पाउनुपर्ने तलव नपाएपछि असन्तुष्टी जनाउदै ताला लगाएको विषयमा रेडियोका व्यवस्थापक बसन्त विश्वकर्मालाई स्पष्टीकरण सोधिएको छ ।
रेडियोमा के कति कारणले बन्द गरिएको हो ? त्यसको लिखित जवाफ दिन व्यवस्थापकलाई स्पष्टीकरण सोधिएको रेडियो संचालक समितिले जनाएको छ । यता रेडियो पौरखीका संचालक समितिका अध्यक्ष रामचन्द्र यादवले कर्मचारीले कुनै सुचना नदिएर रेडियो बन्द गरेकाले स्टेशन म्यानेजरलाई स्पष्टीकरण सोधिएको बताए ।
संचार माध्यम विना जानकारी बन्द गरिएकाले स्पष्टीकरण सोधिएको २४ घण्टामा जवाफ नआएमा कानुनी कारबाही गर्ने अध्यक्ष यादवले बताएका छन् । अध्यक्ष यादवले स्टेशन म्यानेजरले स्पष्टीकरण पेश नगरेकाले तलबको विषयमा अहिले तत्काल केही भन्न नसकिने बताए ।
स्टेशन म्यानेजरले वार्षिक कार्य योजना बनाएर अनुसार सोही बराबर हुने गरी सात महिनाको तलव दिएको स्वीकार गरेका छन् । कर्मचारीले पाउने पारिश्रमिक दिएकाले तलब कुनै बाकी नरहेको अध्यक्ष यादवको भनाई रहेको छ ।
यता संचालक समितिका सचिव हिरेन्द्र रोकायाले आफुहरुले तलब नदिने भनेको कुरा गलत भएको बताएका छन् । उनले रेडियोले वार्षिक रुपमा आम्दानी गरेको रकमले रेडियोका आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरी तलब व्यवस्थापन गर्दा तत्काल सात महिनाको तलब मात्रै भुक्तानी हुने भएकाले यस्तो गरिएको बताए । उनले भने ‘रेडियोमा पैसा छैन भने हामीले कहाँबाट ल्याएर तलब खुवाउने’ हाम्रो घर जग्गा बेच्नु भएन, रेडियोका कर्मचारीहरुले जती कमाए त्यती नै तलब खुवाएको हो ।’
किनारा न्युज बाजुराबाट साभार