राम बहादुर दानी/बाजुरा– जिल्लामा पौरखी विकास सञ्चार सहकारी संस्था लि.द्वारा संचालित रेडियो पौरखी ९०.४ मेगाहर्जका कर्मचारीहरुले शनिबार पुरा पाश्रिमिक नपाएको भन्दै स्टेशन मेनेजरलाई रेडियोको चावी बुझाएका थिए ।
रेडियोका कर्मचारीहरुले सोमबार संयुक्त रुपमा हस्ताक्षरित एक पत्र नेपाल पत्रकार महासंघ बाजुरलाई छलफलका लागि बुझाएको छ । आर्थिक बर्ष २०७७/०७८ रेडियो संचालक समितिले निर्धारण गरेको पारिश्रमिक नदिदा रेडियोका कर्मचारीहरुले स्टेशन मेनेजरलाई साँचो बुझाएका थिए । एक बर्ष सम्म काम गरेको पारिश्रमिक नदिइ सबै कर्मचारीहरुलाई दामसाही रुपमा पारिश्रमिक दिएको भन्दै आपत्ती जनाएका थिए ।
कर्मचारीहरुको मासिक रुपमा तोकिएको तलव नदिई दामसाही रुपमा पारिश्रमिक दिएकोले आफुहरु माथी संचालक समितिले श्रम शोषण गरेको आरोप लगाएका छन । यसरी एक बर्ष सम्म पारिश्रमिक नपाई कोरोना जस्तो महामारीमा पनि आफुहरु फन्टलाईनमा खटेर काम गरि रहदा पनि संचालक समितिले गुन दिनुको सट्टा अपमान दिएको कर्मचारीहरुको दुखेसो रहेको छ । रेडियोमा कार्यरत कर्मचारीहरुलाई आफुहरुले पाउने सेवा सुबिधाबाट सधै वञ्चित गरेको पनि बताएका छन ।
एक बर्ष सम्म खटिएर काम गरेको हुदा आफुहरुले एक बर्षको पुरै पारिश्रमिक पाँउ भनी दिएकाे निवेदन समेतको संचालक समितिले कुँनै सुनुवाइ नगरेको कर्मचारीहरुको भनाइ रहेको छ । यसरी पत्रकारले जस्तो सुकै चुनौतीको समयम पनि फन्टलाईनमा खटिएर काम गर्दाको समयको कुँनै पनि तलव भत्ता नै नपाएकोले नेपाल पत्रकार महासंघ बाजुरा समक्ष छलफलका लागि अनुरोध गरेका छन ।
नेपाल सरकारले श्रमजिवी पत्रकारहरुका लागि २०७५ साल भाद्र २४ २५ गते निर्धारण गरेको न्युनतम १९,५००।– गरेको भएता पनि जिल्लाको मिडिया हाउसको आर्थिक अवस्था हेरेर कर्मचारी र संचालक समितिको सम्भौता अनुसारको पारिश्रमिक नपाउदा नेपाल पत्रकार महासंघ बाजुरासंग छलफलका लागी गुहार माग्नु परेको रेडियो पौरखीका प्राविधिक प्रमुख मान बहादुर ऐडीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
रेडियोमा कार्यरत कर्मचारीहरु प्राविधिक पमुख मान बहादुर ऐडी, समाचार प्रमुख चक्र बहादुर ऐडी, समाचार सहायक राम बहादुर बि.क., समाचार सहायक रमा कुमारी रावल र सहकारीका ब्यबस्थापक शुरेस कठायत लगायतका कर्मचारीहरुको संयुक्त हस्ताक्षरित निवेदन छलफलका लागी अनुरोध गर्दै नेपाल पत्रकार महासंघ बाजुरालाई दिएका छन ।
रेडियो संचालक समितिको २०७७ साल असोज १ गतेको निर्णय अनुसार कर्मचारीहरुले संचालक समितिले दिएको नियूक्ती अनुरुपको पारिश्रमिक नदिदा आफुहरुले न्यायका लागि संचालक समितिले गरेको निर्णयको नक्कल प्रतिलिपी सहित नेपाल पत्रकार महासंघ बाजुरासंग छलफलका लागी गुहार मागेका छन ।
एक बर्ष सम्म आफुहरुले कुनै पनि पारिश्रमिक र सेवा सुविधा नपाई खटेर काम गरेको कुनै पनि मुल्याङ्कन नभई उल्टै पाउने पारिश्रमिकलाई दामसाही रुपमा दिएको बारे नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ प्रदेश समिति, सुचना तथा प्रसारण विभाग र प्रेस काउन्सिललाई बोधार्थ सहितको निवेदन पेस गरेको रेडियोका समाचार सहायक राम बहादुर बि.क.ले जानकारी दिए ।
श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमिक पाउने हकमा ५०० वाट क्षमता भएको एफ एम रेडियोमा कार्यरत कर्मचारीहरुले न्युनतम २१,५००।– पारिश्रमिक निर्धारण गरेको भएता पनि आफुहरुले संचालक समितिले तोकेको पाश्रिमिक समेत नपाउदा यसरी छलफलका लागी गुहार माग्नु परेको रेडियोका समाचार पमुख चक्र ऐडीले बताए ।
यता नेपाल पत्रकार महासंघ बाजुराले यो विषयमा के कस्तो मुद्वा उठाएर पत्रकारहरुलाई न्याय दिलाउन सकिन्छ भनी नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ललाई सोध्दा आफु सदरमुकाम मार्तडी बाहिर रहेकोले छिट्टै सदरमुकाम मार्तडीमा गएर रेडियो संचालक समिति र रेडियोका कर्मचारीहरु संग बसेर छलफल गर्ने बताएका छन ।
रेडियो संचालक समितिका सचिव हिरेन्द्र रोकायाका अनुसार संचार गृहमा आर्थिक बर्षमा पनि खर्च अनुसारको आम्दानी हुन नसकेकोले कुनै पनि कर्मचारीहरुको चित्त नदुख्ने गरी दामासाही रुपमा पाश्रिमिक दिनु परेको बताएका छन । यो बर्ष खुवाएको पारिश्रमिकको लेखाजोखा रहने भएकोले अर्को पटकको पारिश्रमिक दिदा संचालक समितिले नियुक्तीमा गरेको निर्णय अनुसारको पारिश्रमिक दिन सकिने तर यतिखेर कर्मारीहरुलाई सबै पारिश्रमिक दिन नसक्ने भएकोले कर्मचारीहरुले भोको बस्न नपरोस भनी केही समय सम्मको समय टार्न सम्म सहयोग हुने हुदा केहि महिनाको पारिश्रमिक राखेर तलव खुवाएको बताएका छन ।